‘बहादुरले गोली लुकाउँछ, कायरले घडी’ भन्दै मन्त्रीले कांग्रेस सांसदमाथि टिप्पणी गरेपछि एमालेको आपत्ति



काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सांसदहरुले संसदमा उठाएको प्रश्नमा मन्त्रीहरुले गैह्रजिम्मेवार जवाफ दिन नमिल्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ बिरोधमा उत्रिएका प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षीहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरु बिरोधमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बाँस्कोटालाई बोल्न समय दिएका थिए ।

त्यसक्रममा बाँस्कोटाले बालकुमारी घटनामा दोषी ठहर भएका मन्त्रीलाई कारबाही नगरेको, अख्तियारमा बयान दिन जाँदा पनि मन्त्री झन्डा हल्लाएर गएको भन्दै नैतिकता प्रदर्शन गर्न आग्रह गरे ।

आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बैंकको लकरमा गोली लुकाउने र विवादास्पद छवि भएका डा. ल्यारक्याल लामालाई लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको आलोचना गरेका थिए ।

संसदमा आलोचना भएपछि क्लिकमान्डुसँगको विशेष संवादमा मन्त्री किराँतीले खतिवडामाथि घडी चोरीको आरोप लगाएका थिए । ‘बहादुर मान्छेले बैंकको लकरभित्र गोली लुकाउँछन्’ उनले भनेका थिए, ‘कायर र लाछीले घडी लुकाउँछ । घडी लुकाउने मान्छे आज बोलेछन्, ति प्रति मलाई दया जागेको छ ।’

उक्त भिडियो क्लिकमान्डुले सार्वजनिक गरेपछि एमाले सांसद बाँस्कोटाले सोमबारको संसद बैठकमा त्यसको आलोचना गरे ।

सांसदहरुले प्रश्न उठाउँदा जवाफ दिने ठाउँमा ओठे जवाफ फर्काएर उन्मुक्ति नपाइने उनको भनाइ छ ।

‘आज बिहानबाट मात्र सुने ‘बहादुरले गोली लुकाउँछ, कायरले घडी लुकाउँछ’ मन्त्रीले कसलाई भनेको?’ बाँस्कोटाले भने, ‘सांसदहरुले प्रश्न उठाउँदा जवाफ दिने ठाउँमा ओठे जवाफ फर्काएर उन्मुक्ति पाइँदैन । सुशासनको मानग्य हुन सक्दैन ।’

बाँस्कोटाले बालकुमारी घटनाको प्रतिवदेन सार्वजनिक भएको धेरै दिन भइसकेको र प्रतिपक्षीहरुले संसदमा आवाज उठाइरहे पनि सरकारले वेवास्ता गरेको आरोप लगाए ।

‘दिन बित्यो रात बित्यो हप्ता बित्यो प्रमुख प्रतिपक्षी दल र प्रतिपक्षीदलहरुले आवाज उठाएको’ उनले भने, ‘सरकारको कानमा कसैले रुवा हालिदिएको छ । जनप्रतिनिधि मुलक संस्थामा विपक्षीदलहरु उठाएको कुरालाई नजर अन्दाज गरिरहेको छ ।’


क्लिकमान्डु