डियो स्कुटर बेच्ने ज्योति ग्रुपको स्याकर ट्रेडिङको व्यापारमा उच्च गिरावट, ९ अर्बको व्यापार



एजेन्सी । ज्योति ग्रुपको स्वामित्वमा रहेको स्याकर ट्रेडिङ प्रालिको व्यापारमा उच्च गिरावट आएको छ ।

सन् २०२२ को तुलनामा कम्पनीको व्यापार सन् २०२३ मा ३६.७१ प्रतिशतले कमी आएको हो । स्याकर ट्रेडिङले सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा भने कम्पनीको व्यापारमा ५ अर्ब ६३ करोडले गिरावट भएर व्यापार ९ अर्ब ७१ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ ।

सन् २०२० पछि स्याकर ट्रेडिङको व्यापारमा निरन्तर उछाल आएको थियो । सन् २०२० मा ११ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२२ मा कम्पनीले १५ अर्ब ३५ करोडको व्यापार गरेको थियो । त्यसपछि भने कम्पनीको व्यापारमा ३६.७१ प्रतिशतले कमी आएको छ ।

चालु आर्थिक वर्ष सन् २०२४ को पहिलो पाँच महिनामा कम्पनीको व्यापार ४ अर्ब ९५ करोड ८० लाख रुपैयाँ भएको छ ।
सन् २०२३ को कम्पनीको व्यापारमध्ये ६६ प्रतिशत स्कुटरको बिक्रीमार्फत रहेको छ ।

कम्पनीले सन् २०२१ मा स्कुटरको बिक्रीबाट कुलमध्ये ५८ प्रतिशत व्यापार गरेकोमा सन् २०२३ मा यसमा वृद्धि भएर ६६ प्रतिशत पुगेको हो । मुख्य गरि होन्डाको डियो मोडलमाथि कम्पनी बढी निर्भर रहेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।

सन् १९७६ मा स्थापित स्याकर ट्रेडिङ सन् २०११ मा अधिग्रहण भएको थियो । यो कम्पनीले होन्डा ब्राण्डका दुई पांग्रे, यात्रुबहाक निजी सवारी तथा होन्डा पावर प्रोडक्टहरु नेपालमा आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ ।

काठमाडौं कान्तिपथस्थित ज्योति भवनमा केन्द्रीय कार्यालय रहेको कम्पनीको देशभरमा १६ बिक्री सोरुम र ८० वटा डिलरसिपहरु रहेका छन् । कम्पनीमा ज्योति ग्रुपका सौरभ ज्योति अध्यक्ष र सुहृद ज्योति उपाध्यक्ष रहेका छन् । यीमध्ये १६ सोरुमहरु कम्पनीको आफ्नै रहेका छन् ।

स्याकर ट्रेडिङको कर्जा सुविधाको रकम पनि घटाइएको छ । रेटिङ एजेन्सीले यसअघि ९ अर्ब ९ करोड कर्जा सुविधाका लागि रेटिङ गरेको कम्पनीले हाल ६ अर्ब ६० करोड ७० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी इक्रा नेपालले २ अर्ब ५० करोडको दीर्घकालीन कर्जा सुविधाका लागि एल त्रिपल बि र ४ अर्ब १० करोड ७० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए थ्रि प्लस रेटिङ दिएको छ ।

कम्पनीको कर्जा सुविधाको क्षमतामा संकुचन आउनुको कारण नाफाको मार्जिन सन् २०२१ मा १२.१ प्रतिशत रहेकोमा सन् २०२३ मा घटेर ९.२ प्रतिशत रहेको इक्रा नेपालले जनाएको छ ।


क्लिकमान्डु