उखु खेतीतर्फ सुनसरीका किसानको बढ्दो आकर्षण



सुनसरी । समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित बन्न थालेका छन् ।

अरू बालीजस्तो स्याहारको आवश्यकता नपर्ने र एकमुष्ट रूपमा उपजको रकम हात पर्ने भएपछि उखु खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको हो ।

सुनसरीको बर्जु गाउँपालिकामा रहेको इस्टर्न सुगर मिलले केही वर्ष अघिसम्म बेलैमा उखु किसानलाई भुक्तानी दिँदैन थियो । मिलबाट समयमै भुक्तानी नपाएपछि किसानहरू संघर्ष समिति बनाएर आन्दोलन गर्दथे ।

बेलामा भुक्तानी नपाउँदा उखु किसान पलायन हुन बाध्यसमेत थिए र सीमित किसानले मात्र उखु लगाउने गर्दथे । तर पछिल्लो केही वर्ष यता उखुको भुक्तानीमा समस्या नभएको र मूल्य पनि बढेकाले उखु खेतीतर्फ किसानहरू पुनः लोभिएका हुन् । त्यसबाहेक सरकारले ढिलै भए पनि अनुदान रकम थप्ने आश्वासन दिएको छ ।

एकपल्ट उखु लगाएपछि तीन वर्षसम्म त्यसैबाट आम्दानी गर्न सकिने र गोडमेल गर्नुपर्ने समस्या खासै नरहने भएकाले पनि किसान यसतर्फ आकर्षित बनेका हुन् ।

उखुको भुक्तानी समयमा नपाएका कारण विगतमा संघर्ष गर्नुपरेको तर अहिले सयमा नै किसानहरुले उखुको भुक्तानी पाउने गरेकाले पुनः उखु खेतीतर्फ लागेको उखु किसान कमलप्रसाद कामतले बताए । उनले अहिले मिलले इन्स्योरेन्स गराएको भए पनि क्षतिपूर्ति नदिएको बताए । उनीहरुले उखुको क्षति इन्स्योरेन्स गराउँदासमेत नपाएको बताए ।

पाँच वर्षअघि २५ लाख क्विन्टल उखु पेल्ने क्षमता रहेको इस्टर्न सुगर मिलले आठ लाख क्विन्टलमात्र ‘क्रसिङ’ गर्दथ्यो । तर उखु खेती बिस्तार भएसँगै कोशी प्रदेशको एकमात्र चिनी मिललाई भ्याइ नभ्याइ छ ।

अघिल्लो वर्षमात्र १३ क्विन्टल उखु पेलेको मिलले यस पटक १९ क्विन्टल उखु क्रसिङ गर्ने र आगामी वर्ष त्यसलाई बढाएर २५ लाख क्विन्टलमा पुर्‍याउने विश्वास लिएको छ । विगतमा ३५ करोडको उखु खरिद गरेको मिलले यस पटक एक अर्ब २५ करोडको उखु खरिद गर्ने लक्ष्य राखेको छ ।

मूल्यको ‘ग्राफ’ पनि निरन्तर बढ्नु र मिलले पनि विविध कुरामा सहुलियत दिने गरेकाले कोशी प्रदेशमा उखुतिर आकर्षण बढेको इस्टर्न सुगरमिलका महाप्रवन्धक पवनकुमार झा बताउँछन् । किसानहरुलाई १५ दिनेदेखि डेढ महिना भित्रमा भुक्तानी गरिरहेको दाबी गरे ।

विशेषगरी कोशी प्रदेशको सुनसरी, मोरङ र झापाका किसानले उखु खेती बिस्तार गर्न थालेका छन् । मोरङमा दुई हजार सात बिगाह क्षेत्रफलमा ३७ हजार पाँच सय क्विन्टलसम्म उखु उत्पादन हुने गरेको छ । विगत वर्षहरूका तुलनामा यस वर्ष उखु उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मोरङका निमित्त प्रमुख रामदेव सिंहले बताए ।

किसानले मिलबाट प्रतिक्विन्टल उखुको दाम ५६५ रुपैयाँ पाउँछन् । त्यसमा सरकारले ७० रुपैयाँ अनुदान रकम थप्ने गरेको छ ।


क्लिकमान्डु