बालकुमारी घटना: मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।

गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उनलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिएको आशय उनले व्यक्त गरे ।

कोरिया भाषा परीक्षाको फारम भर्न आन्दोलनमा उत्रिएको बेला सोही बाटो हुँदै जाँदै गरेका मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो भने घटनामा दुई जनाको मृत्यु भएको थियो ।

घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले उक्त घटनामा मन्त्रीको पनि दोष भएको उल्लेख गर्दै प्रतिवेदन बुझाएपछि उनलाई सरकारबाट हटाउन माग भएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले समितिले दोषी ठहर गरेका व्यक्तिलाई पदमा राखेर सरकारले सुशासनको नारा लगाउन नमिल्दै भन्दै चर्को आलोचना गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाललेसमेत बैठकमा प्रतिवेदन अध्ययन गरेपछि आवश्यक निर्णय लिने बताएका थिए ।दोषी ठहर भएका व्यक्तिलाई मन्त्रीबाट फिर्ता बोलाउनु पर्ने भन्दै एकीकृत समाजवादी दबाबमा छ ।


क्लिकमान्डु