बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई पदमुक्त गर्न एमाले र रास्वपाको माग



काठमाडौं । प्रतिपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई पदमुक्त गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन्।

बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले सरकारी छानबिन समितिले नै दोषी देखाएका मन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

गत पुस १३ गते बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवाहरू र प्रहरीबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको थियो । बर्तौलाले उक्त घटनामा छानबिन समितिले मन्त्री ज्वालालाई दोषी देखाएको भन्दै तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

सरकारका मन्त्रीको संलग्नता र उपस्थितका कारण घटना भएको भन्ने प्रतिवेदन सरकारी टोलीले नै देखाएको भन्दै बर्तौलाले फागुन ४ मा बुझाइएको प्रतिवेदनअनुसार बालकुमारी घटनाका दोषी मन्त्रीलाई बर्खास्त गर्न माग गरे । उक्त घटनामा वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको थियो ।

सिपाहीलाई कारबाही गरेर मन्त्रीलाई झन्डा दिइरहेको उनले बताए ।

‘प्रतिवेदनले भौतिक मन्त्रीको लापरबाहीका कारणले गर्दा दुई जनाको मृत्यु भयो र करोडौंको सम्पत्ति क्षति भयो । सरकारका मन्त्री दोषी भनेको ३० घण्टा बितिसक्दासमेत मन्त्री पदमा बहाल हुनुहुन्छ,’ बर्तौलाले भने, ‘सिपाहीलाई डण्डा मन्त्रीलाई झन्डा ? सम्बन्धित मन्त्रीलाई पदमुक्त गरियोस् । घटनामा जोडिएका सम्बन्धित मन्त्रीलाई जिम्मेवारीबाट हटाइयोस्, बर्खास्त गरियोस् ।’

रास्वपाका सभापति रवि लामिछानेले पनि उक्त घटनामा दोषी भनिएका मन्त्री ज्वालालाई कारबाही गर्न माग गरेका छन् । प्रमाण हुँदा पनि कारबाही नगर्दा सुशासन नरहेको उनको भनाइ थियो ।


क्लिकमान्डु