घरजग्गा कारोबार गर्न लाइसेन्स नभए २५ लाखदेखि जेलसम्मको सजाय



काठमाडौँ । घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य हुने भएको छ ।

बुधबार प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गर्दै लाइसेन्स नलिई घरजग्गा कारोबार गर्नेलाई कारबाही गर्ने व्यवस्था गरेको हो ।

प्रतिनिधिसभाले पारित गरेको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का अनुसार सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा धेरैको घरजग्गा कारोबार गर्दा अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था छ ।

कानुन संशोधन भएसँगै प्राकृतिक व्यक्तिले आपसी सहमतिमा गर्ने खरिद बिक्रीबाहेक सबै घरजग्गा सम्बन्धी कारोबारको स्वीकृति लिनुपर्छ ।

साथै, विधेयकका अनुसार लाइसेन्स नलिई कसैले घरजग्गा सम्बन्धी कारोबार गरे कारोबारको बिगो खुलेको हकमा बिगो बमोजिम र बिगो नखुलेको हकमा २५ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

विधेयक अब राष्ट्रिय सभाबाट पारित हुँदै राष्ट्रपतिबाट लालमोहर लागेपछि कार्यान्वयनमा जानेछ ।


क्लिकमान्डु