प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँः सांसद देवकोटा



काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्नेकुरा निर्धारण हुन जरुरी रहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्नेकुरा निर्धारुण हुन जरुरी रहेको बताएका हुन् । नेताहरुले नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछु भने पनि सो अनुसार काम हुन नसकेको उनको भनाइ छ । नेपालको भन्दा २२ गुणा धेरै जिडिपी र प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी स्वीट्जरल्याण्डको रहेको उनले बताए ।

‘कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री हुने ? यसमा हामीले सीमा निर्धारण गर्नुपर्छ की पर्दैन ? नेताहरुले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भनेर बोल्ने गरेको म केटाकेटीदेखि नै सुनेको हो । तर स्वीजरल्याण्डको राजनीति किन सफा छ ? कसरी विकासमा छलाङ मारेको छ ? हामीले कहिल्यै मन्थन गरेका छौं ? अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार देशको भकारी धेरै हुनुपर्छ । नेपालको भन्दा २२ गुणा धेरै जीडीपी त स्वीजरल्याण्डको छ । प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी छ ।’

सांसद देवकोटाले नेपालको राजनीतिमा शुद्धिकरण हुन नसकेको बताए ।


क्लिकमान्डु