उद्योगी अरुण चौधरीसहित ३ जना आज छुट्दै, अस्पतालबाटै घर जाने



काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनजना आज छुट्दै छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिनभित्र अनुसन्धान नसकिए थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएकाले उनीहरु आज छुट्न लागेका हुन् ।

गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका उद्योगी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

अदालतले पहिलो पटक चार दिनको म्याद दिएको थियो । यस अवधिमा अनुसन्धान नसकिएको भन्दै सीआईबीले सोमबार फेरि थप म्याद मागेको थियो । तर अदालतले दुई दिनभन्दा बढी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएन ।

पक्राउ परेसँगै स्वास्थ्यमा समस्या देखिएपछि चौधरी र थापा अस्पताल भर्ना भएका छन् भने ठाकुर सीआईबीको हिरासतमै छन् । सुरुमा चिरायु अस्पताल लगिएका उनीहरुलाई अस्पतालले रिफर गरेको थियो । हाल उनीहरु ग्राण्डी अस्पतालमा उपचाररत छन् । चौधरी र थापा हिरासतमा नबसी अस्पतालबाटै छुट्न लागेका हुन् ।

‘प्रतिवादीहरुको अनुसन्धान समक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही थप बुझ्नु पर्ने, कागज गराउनु पर्ने भएमा त्यस सम्बन्धमा बुझी, कागज गराउनको लागि मिति २०५०।१०।२२ गते देखि लागु हुने गरी दुई दिनको म्याद थप गरी दिएको छ । यी प्रतिवादीहरुबाट थप बुझ्नु पर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाडन सक्ने र सो नभएमा म्याद थप भएको दुई दिनभित्र यी प्रतिवादीहरुबाट अब बुझ्नु पर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडि बाँकी अनुसन्धानको कार्य पूरा गर्नु भनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४९६० बमोजिम यो आदेश गरी दिएको छ’, अदालतको आदेशमा भनिएको छ ।

सरकारको निर्णयबिना सञ्चालक समितिलाई कारखानाको नाममा स्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभए पनि तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिने निर्णय गरेको आरोप छ।


क्लिकमान्डु