घनश्याम भुसालको प्रश्नः पार्टी र नेता सफल हुँदा देश असफल किन भयो ?



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टीहरु र नेताहरु सफल भएपनि देश किन असफल भयो भनि प्रश्न गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै महासचिव भुसालले राजनीतिक दलहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भएपनि देश भने असफल भइरहेको बताए । उनले हरेक राजनीतिक दलहरुको दस्ताबेजहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भन्दै दल सफल हुँदा देश चाहीँ किन असफल भएको हो भनि प्रश्न गरे । उनले नेता र पार्टी सफल हुँदा देश असफल कसरी भइरहेको हो भन्दै प्रश्न गरे । महासचिव भुसालले नेपालका राजनीतिक दलहरु गुटमा परिणत भइसकेको पनि बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र समस्या नभई गणतन्त्रको अभ्यासमा र पात्रहरुमा समस्या भएको बताए ।

उनले भने – ‘हरेक राजनीतिक पार्टीले दाबी के गर्छ भने, हामी सफल छौँ । हरेकको केन्द्रिय कमिटी बैठकमा हे¥यौँ भनेदेखि ति पार्टीका डकुमेण्टहरुले भन्छन्, हाम्रो पार्टी सफल छ । ठिक छ । असल नै छ भनेर हरेक राजनीतिक पार्टीको डकुमेण्ट भन्छ । राजनीतिक पार्टी सफल हुने, देश असफल हुने यस्तो कसरी हुन्छ ? सबै पार्टी सफल भइराख्ने । काँग्रेस, एमाले, माओवादी, समाजवादी सबै सफल हुने । अनि देशचाहीँ असफल हुने ? दल भनेको अब करिव करिव पार्टी नेताहरुको गुटमा परिणत भइसकेका छन् । अनि हरेक पार्टीको औपचारिक कुरा के हो भन्दाखेरी आफ्नो पार्टीको नेता सफल भएकै हुनाले नेता भयो । देशचाहीँ असफल भइराख्ने । नेता चाहीँ सफल भइराख्ने । देशचाहीँ असफल भइराख्ने पार्टीचाहीँ सफल हुने यो अन्तरविरोध कहाँ हो ? के हो ? संघीय लोकतान्त्रिक गणतन्त्र आफैँमा समस्या होइन । त्यसको अभ्यासमा समस्या छन् । त्यसको विचार र पात्रहरुमा समस्या छन् ।’

महासचिव भुसालले देशमा गणतन्त्र आइसक्दा पनि पार्टीहरुले दशकौँ अघिको सिद्धान्त बोकेर हिँडिरहेका भन्दै त्यसले नै गणतन्त्र कार्यान्वयनमा समस्या आइरहेको बताए। दलहरुको पुराना सिद्धान्तका कारण गणतन्त्र राम्रो बाटोमा हिँड्न नसकेको उनको भनाई छ ।


क्लिकमान्डु