विद्यार्थी भिसामा युवा पलायनको डरलाग्दो चित्र, युवासँगै अर्बौं विदेशी मुद्रा बाहिरियो



काठमाडौं । प्लस टु सकिएपछि के गर्ने ? विगतको तुलनामा अहिले यो प्रश्नको सरल उत्तर छ, युवासँग ।

पढ्न विदेश जाने ।

नेपालमा उच्च शिक्षाका लागि थुप्रै विश्वविद्यालय अन्तर्गतका फ्याकल्टीका लागि शैक्षिक संस्थाहरु खुलिसके । तर पनि विदेश अध्ययनका लागि जाने युवाको संख्या बढ्दै गएको छ ।

अन्तराष्ट्रिय स्तरकै शिक्षा दिने र विदेशी विश्वविद्यालयकै अफिलिएसनमा खुलेका शैक्षिक संस्थाहरु पनि नेपालमा नभएका होइनन्, तर पनि अध्ययनका लागि भन्दै विदेश जाने युवाको संख्या दिनप्रति दिन बढ्दै जाँदा नेपालका उच्च शिक्षाका संस्थाहरुमात्र खाली भइरहेका छैनन्, एउटा सिंगो पुस्ता नै नेपाली समाजबाट हराउँदैछ ।

गत नोभेम्बरमा अष्ट्रेलिया पढ्न गएका मोरङको कानेपोखरी गाउँपालिकाका लेलिन गौतम भन्छन्, ‘नेपालमा पढेर पनि पछि काम नपाइएला भन्ने अवस्था छ । त्यसैले नेपालमा पढ्न खर्च गर्नुभन्दा त्यहि पैसाले विदेश आएर यतै पढ्ने र यतै केही गर्ने अवसर त पाइन्छ ।’

नेपालमा प्लस टु सक्ने बित्तिकै अष्ट्रेलिया गएको उनी बताउँछन् ।

गौतमजस्तै अहिले लाखौं युवाहरु अध्ययनका लागि नेपाल बाहिरिने क्रम बढ्दै गएको छ ।

विसं २०६४ मा नेपालबाट वैदेशिक अध्ययनका लागि जानका लागि पूर्वस्वीकृति अनुमति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) लिनेहरुको संख्या १० हजार ५०४ जना थियो। तर, गत आर्थिक वर्ष २०७९/०८० मा यो संख्यामा झण्डै ९५० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा नेपालबाट वैदेशिक अध्ययनका लागि आवश्यक एनओसि लिने विद्यार्थीहरुको संख्या १ लाख १० हजार २१७ पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै पनि हजारौंको संख्यामा युवाहरु विदेसिएका छन् । शिक्षा मन्त्रालयकाकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५१ हजारभन्दा धेरैले एनओसी लिएका छन् ।

सबैभन्दा धेरै युवाहरुले क्यानडाका लागि एनओसी लिएका छन् । मन्त्रालयका अनुसार १२ हजार ७५ जना युवाले क्यानडामा अध्ययनका लागि एनओसी लिएका छन् । त्यसपछि अष्ट्रेलियाका लागि ९ हजार ७८७ जनाले एनओसी लिएका छन् ।

त्यस्तै, क्रमशः जापानका लागि ८ हजार ५६७ जना, बेलायत (युके)का लागि ६ हजार ६८७ जना, अमेरिकाका लागि ५ हजार ३१८ जना, दक्षिण कोरियाका लागि २ हजार ३७२ जना र भारतका लागि १ हजार ३१२ जनाले एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांकले देखाउँछ ।

शिक्षाविद् तथा अर्थविद्हरु युवा पुस्ता अध्ययनका लागि भन्दै विभिन्न फर्स्ट वर्ल्ड देशहरु जाने क्रम बढ्दै गएको बताउँछन् । तर, उनीहरुमध्ये सबै नै अध्ययनका लागि मात्रै नभएर आम्दानीका लागि पनि विद्यार्थीका रुपमा फर्स्ट वर्ल्ड देशहरु जाने गरेका छन्।

अर्थविद् डा. रेशम थापा भन्छन्, ‘पढ्नका लागि युवाहरु विदेसिएको देखिए पनि सबै जना पढ्नकै लागि जान्छन् भन्ने हुँदैन । धेरै जना राम्रो देशमा कमाउनका लागि पनि पढ्ने भन्दै गइरहेका छन् । समाजमा विदेश जाने चलन बढ्दै गएको छ ।’

नयाँ व्यवस्थासँगै युवाले देश छाड्न थाले

पछिल्लो ३० वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालबाट वैदेशिक अध्ययनका नाममा बाहिरिने प्रवृत्तिमा वृद्धि २०६३ पछि भएको देखिन्छ ।

आर्थिक वर्ष २०५१/०५२ मा नेपालबाट वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या ९७८ जना थियो । त्यसपछिको एक दशकमा पनि यो संख्यामा धेरै वृद्धि भएको थिएन । आव २०६०/०६१ मा नेपालबाट २ हजार ८२३ जना विदेश अध्ययनका लागि गएका थिए ।

तर, त्यसपछि भने यो संख्यामा निरन्तर तीव्र वृद्धि हुन थालेको छ ।

आव २०६१/०६२ मा नेपालबाट ३ हजार ६०८ जना वैदेशिक अध्ययनका लागि बाहिरिएका थिए । त्यस्तै, आव २०६२/६३ मा ५ हजार २६२ जना वैदेशिक अध्ययनका लागि बाहिरिएका थिए ।

विसं २०६३ मा नेपाल नयाँ शासन व्यवस्थामा प्रवेश गर्‍यो । विस्तृत शान्ति सम्झौतापछि कृष्णबहादुर महराको संयोजकत्वमा तत्कालीन नेकपा माओवादी सरकारमा गएको थियो ।

राजतन्त्रको अन्त्य भएर देशमा नयाँ शासन व्यवस्था आएपछि झन् धेरैले अध्ययनका लागि भन्दै देश छाडे । मुलुकले राजनीतिक मुद्दालाई टुंगो लगाएपछि सायद अब आर्थिक विकासमा केन्द्रीत हुने छ र त्यसका लागि विदेशमा पढेलेखेका, ज्ञानको दायरा फराकिलो भएका मुलुक हाँक्ने युवा जनशक्तिको आवश्यकता हुनेछ भन्ने सबैको सोच थियो । तर त्यस्तो हुन सकेन । आव २०६३/०६४ मा ७ हजार १९३ जना नेपालबाट विदेशमा अध्ययनका लागि गएका थिए । आव २०६४/६५ मा आइपुग्दा यो संख्या १० हजारभन्दा धेरै पुग्यो ।

पञ्चायत कालमा होस् वा राजाको शासनकालमा केही मुठ्ठिभरका शक्तिशाली अनि उच्च वर्गको मात्र पहुँचमा रहेको विदेश अध्ययनमा नागरिकको पनि पहुँच पुगेका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा २०६४/६५ मा नेपालबाट वैदेशिक अध्ययनका लागि बाहिरिनेहरुको संख्यामा ४ हजार ७१९ जनाले वृद्धि भएको थियो । उक्त आर्थिक वर्षमा नेपालबाट ११ हजार ५९० जनाले वैदेशिक अध्ययनका नाममा देश छाडेका थिए ।


यसरी २०६० को दशकमा मात्रै नेपालबाट वैदेशिक अध्ययनका लागि १ लाख १३ हजार ५४५ जनाले देश छाडेका थिए ।
२०७० को दशक सुरु भएसँगै त्यो संख्यामा झन वृद्धि भयो । अघिल्लो दशकभरमा देश छाडेका १ लाख १३ हजारभन्दा धेरै २०७० को दशकको पहिलो चार वर्षमा नै बाहिरिएका थिए । आव २०७०/०७१ देखि २०७३/०७४ सम्म नेपालबाट बाहिरिने विद्यार्थीहरुको संख्या १ लाख ४६ हजार ८६७ रहेको थियो ।

२०७० को दशक सुरु भएयता पनि विदेश पलायन हुने विद्यार्थीहरुको संख्या निरन्तर बढ्दै गएको छ । पछिल्ला दुई वर्षमा त झन् एक लाखभन्दा धेरै विद्यार्थीहरु विदेसिएका छन् ।

१० वर्षमा विद्यार्थीसँगै बाहिरियो साढे ४ खर्ब बराबरको विदेशी मुद्रा

पछिल्लो १० वर्षको अवधिमा नेपालबाट वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या निरन्तर बढी नै रहेको छ ।
आर्थिक वर्ष २०७०/७१ मा नेपालबाट २८ हजार १२६ जना विद्यार्थीहरुले वैदेशिक अध्ययनका लागि गएका थिए । उनीहरुसँगै नेपालबाट १७ अर्ब ८८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको थियो ।

गत आर्थिक वर्षमा आइपुग्दा यो संख्यामा उच्च वृद्धि भएको छ । नेपालबाट वैदेशिक अध्ययनका लागि १ लाख १० हजार २१७ जना विद्यार्थीहरुले स्वीकृति लिएका छन् भने कुल १ खर्ब १४ अर्ब ८२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा उनीहरुसँग देशबाट बाहिरिएको छ ।

कुनै पनि ब्यक्तिले आफूले चाहेको पेशा व्यवसाय गर्न तथा शिक्षा लिनलाई नेपालको संविधान २०७२ले स्वतन्त्रता दिएको छ । त्यसैले युवाले विदेशमा अध्ययन गर्न चाहँदा रोक्न सकिन्न । तर, पछिल्ला वर्षहरुमा नेपालमा नै सरकार तथा निजी क्षेत्रको शिक्षामा लगानी बढेको छ । तैपनि युवाहरु अध्ययनका लागि भन्दै विदेश जाने ट्रेण्डलाई भने रोक्न सकिएको छैन ।

पछिल्ला दुई वर्षमा त १ लाखभन्दा धेरै युवाहरु अध्ययनका लागि भन्दै विदेसिएका छन् । तथ्यांककाअनुसार आर्थिक वर्ष २०७८/०७९ मा १ लाख २ हजार ५०४ जना अध्ययनका लागि विदेश जानभन्दै एनओसी लिनेहरु थिए भने गत आर्थिक वर्ष २०७९/०८० मा १ लाख १० हजार २१७ जनाको संख्यामा विद्यार्थीहरुले एनओसी लिएका थिए ।


एक दशकअघि र अहिलेको तथ्यांकलाई विश्लेषण गर्ने हो भने नेपालबाट अध्ययनका लागि भन्दै विदेश जानेहरुको संख्यामा उच्च वृद्धि भएको छ । आव २०७०/७१ को तुलनामा गत आर्थिक वर्षमा २९१.८६ प्रतिशतले विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने संख्यामा वृद्धि भएको छ । यसरी अध्ययनका लागि भन्दै विदेसिने युवाहरु धेरै जसो भने नेपाल नफर्कि उतै आफूलाई स्थापित गर्न लागेका छन् । अध्ययनका लागि भन्दै विदेसिएका कति युवा नेपाल फर्किए भन्ने विषयमा सरकारसँग यकिन तथ्यांक छैन ।

मुलुकमा आशा जगाउन सकिएको भए, सायद ती युवा नेपाल फर्कन्थे होलान् । तर, पछिल्लो समय अध्ययनका नामा विदेसिएका युवा फर्कने सम्भावना न्यून छ ।

यसरी युवाहरु विदेश पलायन भइरहँदा उनीहरुसँगै ठूलो मात्रामा विदेशी मुद्रा पनि विदेशीएको तथ्यांकले देखाउँछ । १० वर्ष अघि आर्थिक वर्ष २०७०/०७१ मा नेपालबाट विद्यार्थीहरु विदेसिदा बाहिरिएको विदेशी मुद्राको तुलनामा गत वर्ष ५४२.१७ प्रतिशत बढी विदेशी मुद्रा बाहिरिएको छ ।

आर्थिक वर्ष २०७०/०७१ मा नेपालबाट २८ हजार १२६ विद्यार्थीहरु विदेश अध्ययनका लागि जाँदा १७.८८ अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा पनि बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यो संख्या वर्षेनी बढ्दै गइरहेको छ । कोरोना महामारीका बीच केही कम भए पनि त्यसपछि भने यसमा तीव्र वृ‌द्धि भएको छ ।

आव २०७१/०७२ मा २०.१३ अर्ब, आव २०७२/०७३ मा २४.१३ अर्ब, आव २०७२/०७३ मा २४.०९ अर्ब, आव २०७३/७४ मा ४०.४२ अर्ब, २०७४/०७५ मा ४४.४२ अर्ब, २०७५/०७६ ५३.४८ अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा विद्यार्थीहरुसँगै बाहिरिएको थियो ।

यदि नेपालमा सम्मानीत रोजगारीका संभावना भएको भए यी शिक्षित विद्यार्थीले नेपाल फर्केर मुलुकको आर्थिक सामाजिक विकासमा योगदान दिने थिए । अर्थतन्त्र विस्तार गर्न सहयोगी हुने थिए, र उनीहरुले विदेशी मुद्रा खर्चेर पाएको ज्ञान नेपालको विकासमा प्रयोग हुन्थ्यो । तर, त्यसो भएन ।

कोरोना महामारीमा पनि आव २०७६/०७७ मा २९.६७ अर्ब र आव २०७७/०७८ मा २८.३६ अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएकोमा कोरोना महामारीको अन्त्यपछि भने आव २०७८/०७८ मा ८९.०९ अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको थियो ।

गत आर्थिक वर्षमा त झन् यसले १ सय अर्बभन्दा धेरैको उचाइ छोएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १ सय १४.८२ अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा विद्यार्थीहरुसँग बाहिरिएको थियो ।

पछिल्लो १० वर्षमा शिक्षा क्षेत्रमा भएको लगानी र बजेटको अवस्था हेर्ने हो भने त्यसमा पनि वृद्धि भएको छ । तर, शिक्षामा लगानी बढिरहँदा पनि विद्यार्थीहरु देशमै बस्न सक्ने अवस्था भने सिर्जना हुन नसक्नु असामान्य रहेको देखिन्छ ।

बजेटमार्फत हुने अनुदान, ऋण, प्राविधिक सहायता, विभिन्न संघसंस्थाको सहयोग लगायत गरि सन् २००९/०१० को तुलनामा २०२०/०२१ मा शिक्षा क्षेत्रमा भइरहेको लगानी १३२.५९ प्रतिशतले बढेको छ ।

तर, यति हुँदा हुँदै पनि विद्यार्थीहरु नेपाल छाडेर वैदेशिक अध्ययनका नाममा पलायन हुने ट्रेण्ड भने रोकिएको छैन ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक अध्ययनका लागि जानेहरुले लैजाने विदेशी मुद्रा ६४.३ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८०/०८१ को पहिलो ५ महिनामा वैदेशिक अध्ययनका लागि जाने युवाहरुसँगै ४७ अर्ब ३४ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ । जबकि गत वर्ष यहि अवधिमा २८ अर्ब ८० करोड ८६ लाख रुपैयाँ मात्रै बाहिरिएको थियो ।

किन गइरहेका छन् विद्यार्थी विदेश ?

शिक्षा क्षेत्रमा दुई दशकदेखि काम गरिरहेका नरोत्तम अर्याल पछिल्लो दुई वर्षमा विद्यार्थीहरु विदेश जाने चलन अत्यधिक बढ्नुको कारण नेपालको शिक्षामा रुपान्तरण नहुनुको परिणाम भएको बताउँछन् । नेपालको शिक्षामा जुन किसिमले रुपान्तरण हुनुपर्ने थियो त्यस अनुसार नभएको भन्दै उनी नेपालको शिक्षा सर्टिफिकेट बाँड्नेजस्तो मात्रै भएको बताउँछन् ।

‘कागज छ, तर हातमा सिप छैन, ज्ञान छैन,’ उनी भन्छन्, ‘कुनै समस्या समाधान गर्न सक्ने खालको स्किल छैन । केही प्रतिशत राम्रो छन् । तर, केही राम्रो भएको भन्दैमा त्यसैमा मात्र गर्व गरेर बस्ने भन्ने होइन । हामीले ठूलो संख्यामा सर्टिफिकेट त दियौं । तर, त्यो सर्टिफिकेटको उद्देश्य चाहिँ के त ? सिप हुनुपर्ने, ज्ञान हुनुपर्ने, हाम्रो समस्या समाधान गर्नुपर्ने, रोजगारीमा जोडिनुपर्ने हो। तर, त्यो नभएको कारणले युवाहरु विदेश जाने चलन बढ्दै गएको छ ।’

अर्याल शिक्षा सिकाइ केन्द्रित हुनुपर्नेमा पढाइ केन्द्रित भएको र शिक्षा र समाजबीचको सम्बन्ध पनि स्थापित हुन नसक्नु प्रमुख समस्या रहेको बताउँछन् ।

‘हाम्रो शिक्षा र समाज जोडिएको छैन । हाम्रो आफ्नो प्रविधि, हाम्रो आफ्नो सिपलाई शिक्षामा ल्याउन सकेका छैनौं । हामीले शिक्षामा पढेको कुरालाई हाम्रो ज्ञान, हाम्रो पोटेन्सियललाई चिनेको छैन । त्यो पनि प्रमुख समस्या हो’ उनी भन्छन् ।

डा. थापा भने विद्यार्थीहरु विदेश जाने सिलसिला पनि रेमिट्यान्सकै एटा कडी भएको बताउँछन् । नेपाली समाज नै ‘लाहुरे अर्थतन्त्र’ मा आधारित समाज भइसकेकाले विद्यार्थीहरु पनि समाजमा गाडिएको चलनकै परिणामका रुपमा विदेश जाने चलन बढ्दै गएको उनी बताउँछन् ।

‘अहिले कुनै पनि क्षेत्रका उत्कृष्ट वा कमजोर जस्तोसुकै जनशक्ति पनि विदेश जाने चलन छ,’ उनी भन्छन्, ‘पढ्नका लागि छात्रवृत्ति पाएर जाने विद्यार्थीहरु निकै कम छन् । ठूलो संख्यामा विद्यार्थीहरु कुनै न कुनै तरिकाले सजिलो गरि विदेश गएर पैसा कमाउने उद्देश्यका साथ गइरहेका छन् । पछिल्ला वर्षहरुमा गएकाहरुमध्ये सबै जसो नै विद्यार्थी भिसामा रेमिट्यान्स कमाउन गएकाहरु हुन् ।’

विद्यार्थीहरुको उच्च पलायनले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल स्वदेशले नभई अन्य देशले पाएको पनि उनी बताउँछन् । भोलीका दिनमा ठूलो मात्रामा पैसा कमाएर रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र चलाउन सजिलो भएपनि अर्थशास्त्रीय दृष्टिकोणमा ठूलो र डरलाग्दा जोखिमहरु रहने उनले बताए ।

‘रेमिट्यान्सको बजारको हिसाबले नेपालीलाई सस्तो श्रम भनेर लैजाने खाडीजस्ता देशहरुबाट रेमिट्यान्स आएँछ,’ उनले भने, ‘त्यहाँको नियमले नेपालीलाई त्यहाँ बस्न दिँदैन । तर, जापान र कोरियाबाहेक अन्य देशमा विद्यार्थीका रुपमा जाने युवाहरु उतै बस्ने गरि गएका हुन्छन् । उनीहरु नेपाल फर्किने सम्भावना नै कम हुन्छ । बरु रेमिट्यान्स आउने भन्दा पनि यताबाट उता पैसा लैजाने सक्ने सम्भावना उच्च छ ।’

युवा जनशक्ति विद्यार्थी भिषामा विदेश पलायन भइरहँदा यसले जनशक्ति अभावको अवस्था सिर्जना भइरहेको डा थापाको दाबी छ । यो पलायनलाई रोक्नका लागि सरकारले आवश्यकता बुझेर नीतिगत सुधार गर्दै नेपाली अर्थतन्त्रको विशेषताअनुसार रोजगारीका अवसरहरु सिर्जना गर्ने र पलायन हुने विद्यार्थीहरुलाई स्वदेशमा नै राख्ने गरि काम गर्नुपर्ने सुझाव दिन्छन् ।

‘सरकारले रोजगारी दिने भन्दै १८० दिन काम दिने दिने जस्ता कार्यक्रम ल्याएको छ । त्यस्ता किसिमका कात्तिके कार्यक्रम दीर्घकालिन हुँदैन’, उनले भने, ‘सरकारले आवश्यकता बुझेर नीतिगत सुधार गर्दै आफ्नो अर्थतन्त्रको विशेषता सुहाउँदो गरि क्षेत्रगत पकेट एरिया बनाएर जागिर सिर्जना गर्न सक्छ । थुप्रै ठाउँमा जागिरि सिर्जना गर्न सकिन्छ । तर, त्यो किसिमले सोच्ने काम न त हाम्रो विश्वविद्यालयमा भएको छ न राजनीतिक नेतृत्वमा । ठूलो दोष राजनीतिक नेतृत्वमा छ । राजनीतिक दलहरुले लुटेर खानेतर्फमा मात्रै ध्यान दिने हुँदा अवस्था चिन्ताजनक बन्दै गएको छ ।’


युवराज भट्टराई