खेलाडीलाई डाइटमा अनिवार्य स्वदेशी दूध खाने व्यवस्था मिलाउन आग्रह



काठमाडौं । नेपाल डेरी एशोसिएसनले खेलाडीहरुको खाना र डाइटमा अनिवार्य रुपमा स्वदेशी दूध र दुग्धजन्य पदार्थ समावेश गराउन सरकारसँग आग्रह गरेको छ ।

एशोसिएसनले आइतबार बिज्ञप्ती जारी गर्दै थन्किएको बटर र धुलो दूध बिक्री नहुँदा गाईभैसीलाई नियमित रुपमा दाना पानीसमेत खुवाउन धौ धौ परेकाले समस्या समाधानका लागि दूध र दुग्धजन्य पदार्थको खपत बढाउन आग्रह गरेको छ ।

एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले खेलकुद मन्त्री र सचिब, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद समिति र स्थानीय तहका शिक्षा तथा खेलकुद शाखालाई पत्राचार गर्दै खेलाडीले सेवन गर्ने खाना र डाइटमा स्वदेशमा उत्पादन भएको दूध र दुग्धजन्य पदार्थ समावेश गरिदिन आग्रह गरेका हुन् ।

एशोसिएसनले सहकारीलगायतका विभिन्न संघसंस्थाले आयोजना गर्ने साधारणसभा लगायतका कार्यक्रममा पनि अतिथिहरुलाई मायाको चिनोको रुपमा दुध तथा दुग्धजन्य पदार्थहरु घिउ, पनिर, गुंदपाक, पुष्टकारी, छुर्पी, खुवालाई प्रयोग गरी किसान र उद्योगलाई सहयोग गर्न आग्रह गरेको छ ।

बजारमा माग घटेको समयमा स्वदेशमा ५ अर्ब रुपैयाँ बढीको बटर र धुलो दूध थन्किएर बसेको छ । किसानलाई भुत्तानी दिन नसकिएको एशोसिएसनले जनाएको छ ।


क्लिकमान्डु