बजेट अभावले ८ वर्षसम्म बनेन ६ किमी बाइपास सडक
चितवन । पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको ८ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक आठ वर्षमा पनि सम्पन्न हुन नसकेको हो ।
भरतपुरको केन्द्रीय बस ट्रमिनलबाट आँपटारीसम्मको बाइपास सडकमा अहिले फुटपाथ व्यवस्थापनको काम मात्र बाँकी छ । पश्चिमतर्फको काम सम्पन्न गरी पूर्वतर्फ बसेनीबाट आँपटारी चोकसम्ममा फुटपाथ व्यवस्थापनको काम बाँकी रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी ई चन्द्रेश्वर साहले जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत आर्थिक वर्ष २०७१÷७२ देखि सुरु हुँदै आएको यो सडकको निर्माण अन्तिम चरणमा पुगेको उनले बताए ।
बहुवर्षीय योजनाको यो सडकका लागि पछिल्लो समय बजेट अभाव भएको छ । बजेट नपरेपछि सडक विभागमा सडक डिभिजन कार्यालयले पत्राचार गरेको उनले बताए । बाइपास सडक निर्माणका लागि पहिलो ठेक्का केन्द्रीय बस ट्रमिनलबाट विशाल चोकसम्म र दोस्रो ठेक्का विशाल चोकबाट आँपटारीसम्म दिइएको थियो । पहिलो ठेक्का चार किलोमिटर सडक दुई लेन बनाउनका लागि ठेक्का गरिए पनि स्थानीयको मागसँगै त्यसलाई छोट्याएर दुई किलोमिटर सडक चार लेनमा निर्माण गरिएको छ । पहिलो खण्डको ठेक्का गौरी–पार्वती निर्माण सेवाले १२ करोडमा पाएको थियो । पहिलो खण्डमा ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ भने सम्झौताको म्याद गत भदौमा सकिएको थियो ।
दोस्रो खण्डमा भने पशुपति रायमाझी जेभीले काम गर्दै आएको छ । सो खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ । फुटपाथमा स्ल्याप राख्ने काम भइरहेको छ । गत आर्थिक वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा सो खण्डमा बजेट अभावका कारण पूरा हुन नसकेको हो ।
निर्माण कम्पनीले ९० प्रतिशत काम सम्पन्न गरे पनि बजेट निकासा हुन नसक्दा निर्माण कम्पनीले पैसा पाउन सकेको छैन । डिभिजन सडक कार्यालयका प्रमुख रमेश पौडेलका अनुसार सो कम्पनीलाई बाँकी रकम भुक्तानी गर्न सकिएको छैन । पछिल्लो समय गरेको कालोपत्रलगायत कामको भुक्तानीका लागि पनि विभागमा बजेट माग गरिएको छ ।