भैँसीपालनबाट मनग्य आम्दानी, महिनाको डेढ लाख कमाइ



घोराही । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुख्र्यौली पेसा भैंसीपालन हो । उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् ।

उनले यसैकोआम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आएका छन् । परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लगेका उनले भैंसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय एक लाख ५० हजारसम्म मासिक आम्दानी गर्दै आएका छन् ।

साना–ठूला गरेर ७२ भैंसीपालन गरेका उनले दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेका छन् । “हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु” उनले भने ।

ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनले बताए ।

उनका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्याएर दूध बिक्री गर्ने काम गर्दै आएको बताए । घरका अन्य सदस्यले पनि काममा साथ दिएको उनी बताउँछन् ।

विदेशमा अर्काको अधिनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उनी बताउँछन् । उनीसँग वैदेशिक रोजगारको समेत अनुभव छ ।

उनले भने, “विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा ६०–७० हजारसम्म कमाई हुन्छ, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ, भैंसी बढाएर पाल्दै आएको छु । आम्दानी पनि राम्रै भइरहेको छ ।”

दूध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरे पनि बाँकी रकम नाफा हुने गरेको उनी बताउँछन् ।

गाउँमा सबैभन्दा धेरै भैँसीपालन गर्ने किसानका रूपमा रहनुभएका यावदले लाखौं खर्च गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा परिवारसँग बसेर पैसा कमाउन सकिने अरुलाई समेत सुझाव दिन्छन् । त्यसका लागि आफूमा आत्मविश्वास हुनुपर्ने उनी बताउँछन् । उनले भने, “विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाई गर्न सकिन्छ ।”


क्लिकमान्डु