केपी ओली नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता: पूर्वराष्ट्रपति विद्या भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा चित्रण गरेकी छन् ।

मंगलबार काठमाडौंमा ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएको बताइन् ।

ओलीले संसदमा गरेका भाषणहरु पनि राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको बताइन् ।

उनले सो पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिका समेत उजागर गरेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले उक्त पुस्तकलाई आम नेपालीको साझा सम्पत्तिको रुपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने बताइन् ।


क्लिकमान्डु