पाँचतारेमा दुईवटा होटल थपिँदा ४ वटाको तारा वर्गीकरण निलम्बन, सूचीकृत होटल नै नवीकरण भएन



काठमाडौं । नेपालमा दुईवटा पाँचतारे होटल थपिएका छन् भने ४ वटाको पाँचतारे वर्गीकरण नै निलम्बनमा परेको छ । लाजिम्पाटमा दूषित प्रिन्सेस नामले सञ्चालनमा आएको होटल ल्हासा इन्टरनेसनल पाँचतारेमा सूचीकृत भएको छ ।

१०७ कोठाको यो होटल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा दर्ता हुनासाथ पाँचतारेमा सूचीकृत भएको हो । यसले निर्माण प्रक्रिया पूरा गर्दा नै पाँचतारे अनुसारकै शर्त पूरा गर्दै गएकोले होटल वर्गीकरणबाट ५ तारे भएको पर्यटन विभागले जानकारी दिएको छ ।

गैरआवासी नेपालीको लगानीमा सञ्चालित धुम्बाराहीस्थित होटल अकामा पनि पाँच तारे भएको छ । चार तारेमा दर्ता भएर सञ्चालनमा आएको यो होटल ४ वर्षपछि पाँचतारेमा स्तरोन्नती भएको हो । यसले आवश्यक सेवा सुविधा थप गरेसँगै तोकिएको शर्त पूरा गरेर स्तरोन्नती भएको पर्यटन विभागका शाखा अधिकृत प्रयास भट्टराईले बताए ।

सञ्चालनमा आउँदै १०७ कोठा रहेको यो होटलमा अन्य सुविधा नपुगेका कारण स्तर वर्गीकरणमा चारतारे भएको थियो । पछिल्लो समय यसले अरु सेवा सुविधा बढाएको छ । काठमाडौं उपत्यकामा सञ्चालित पाँचतारे होटलको न्यूनतम कोठा संख्या १०० वटा हुनुपर्छ ।

विभागका अनुसार यो वर्ष दुईवटा पाँचतारे होटल थप भए पनि यस अघिका ४ वटा पाँचतारे होटलको भने स्तर वर्गीकरण नै निलम्बनमा परेको छ । तोकिएको शर्त पालना नगरेको र सरकारी बाँकी बक्यौता तिर्नुपर्नेले नतिरेका कारण पाँचतारेमा सञ्चालनमा आइसकेका होटलको स्तर वर्गीकरण निलम्बनमा परेको हो ।

पर्यटन विभागकाअनुसार बानेश्वरमा सञ्चालनमा रहेको दि एभरेष्ट होटल, दरबारमार्गको याक एण्ड यती, लाजिम्पाटको ओरियन्टल होटल (र्‍याडिसन) र उपत्यका बाहिर कास्कीमा सञ्चालन हुन नसकेको फूलबारी रिसोर्टको तारा वर्गीकरण निलम्बनमा छ । फूलबारी रिसोर्ट एक दशकभन्दा लामो समयदेखि बन्द छ भने सञ्चालनमा रहेको अन्य तीन वटाको पनि वेवास्ताकै कारण पाँचतारे वर्गीकरण निलम्बनमा छ ।

सूचीकृत होटलकै नवीकरण भएन

पाँचतारे होटलको रूपमा सञ्चालनमा रहेको र वर्षोदेखि सेवा दिइरहेको र्‍याडिसन होटल नेप्सेमा सूचीकृत छ । सर्वसाधारणको समेत लगानी रहेको यो होटलमा सञ्चालित क्यासिनो र्‍याडले सरकारलाई तिर्नुपर्ने राजस्व बाँकी छ । जसका कारण होटल नवीकरण नभएको विभागले जानकारी दिएको छ । नेप्सेमा र्‍याडिसनको १ करोड १२ लाख ८० हजार ९०५ कित्ता सेयर सूचीकृत छ ।

३५० कोठाको र्‍याडिसन होटल २०७४ माघ १४ पछि पर्यटन विभागमा नवीकरण भएको छैन् । यो होटल २०७९ माघमै नवीकरण गरिसक्नुपर्ने थियो । यसले पछिल्लो एक वर्ष अगाडि मात्रै गराउनुपर्ने नवीकरण हुन नसकेको छैन । होटल परिसरमा रहेको क्यासिनोले सरकारलाई तिर्नुपर्ने सरकारी राजस्व भुक्तानी नगरेका कारण यो होटल नवीकरण नभएको हो । होटल नवीकरण नहुँदा सरकारले दिने पर्यटकीय सेवा सुविधा रोकिन्छ ।

विभागका अनुसार र्‍याडिसनले क्यासिनो रोयल्टी बाँकी राखेका कारण यसको नवीकरण नभएको हो । होटल परिषरमा सञ्चालित क्यासिनोको रोयल्टी तिर्ने दायित्व सम्बन्धित होटलकै भएको भन्दै विभागले यसलाई नवीकरण नगराएको हो । विभागका अनुसार याक एण्ड यतीको पनि क्यासिनोकै दायित्वका कारण नवीकरण हुन सकेको छैन ।

होटल नवीकरण नहुँदा के असर पर्छ ?

पर्यटकीय सेवाका लागि खोलिएको होटल नवीकरण नहुँदा सरकारले त्यसका लागि दिने सुविधा पनि रोकिन्छ । पर्यटन विभागका अनुसार हरेक पाँच वर्षमा होटल व्यवसाय नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ।

होटल नवीकरण नहुँदा नयाँ पर्यटकीय सवारी साधन ल्याउन, भन्सार छुट, विदेशी मुद्रा विनिमय कारोबारसहितका गतिविधि ठप्प हुन्छ । पर्यटकीय सेवाका उद्योगलाई पाँच प्रतिशतमात्रै भन्सार तिरेर आवश्यक सामग्री आयात गर्न सरकारले नै सहजीकरण गर्छ ।

होटल नवीकरण गराउँदा हरेक ६ महिनाको आवधिक प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । नवीकरण गर्न कुनै शुल्क तिर्नु पर्दैन । शुल्कबिना नै नवीकरण हुने भए पनि होटलहरूले अटेर गर्ने गरेकोले नवीकरण नै नगर्ने गरिएको विभागको भनाइ छ ।

विभागका अनुसार जुन होटललाई विदेशी मुद्रा सटहीको सुविधा चाहिन्छ त्यो होटल मात्रै समयमा नै नवीकरण गर्न आउने गरेको छ । तर, ठूला र पाँचतारे होटलमा विदेशी मुद्राको कारोबार हुने भएकोले अनिवार्य रूपमा नवीकरण गराएर उक्त सुविधा लिनुपर्ने विभागका अधिकारीको भनाइ छ ।

विभागका अनुसार भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी नगरेको, होटलले आवश्यक मापदण्ड पूरा गरेर स्तर वर्गीकरण कायम रहेको प्रमाणपत्रको प्रतिलिपि बुझाउन नसकेको होटलको नवीकरण रोकिएको हो । नवीकरण नभएका होटकका लागि पर्यटन विभागले नेपाल राष्ट्र बैंकसमक्ष गर्नुपर्ने विदेशी मुद्रा कारोबारको अनुमतिका लागि सिफारिस समेत नगर्ने उल्लेख छ ।

‘पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७०’ अनुसार कुनै पनि होटलले विदेशी मुद्रा कारोवारको लागि राष्ट्र बैंकबाट लिने अनुमतिपूर्व पर्यटन विभागको सिफारिस चाहिन्छ । यसका लागि स्तर वर्गीकरण अनिवार्य छ । विभागमा स्तर वर्गीकरण भएका होटललाई मात्रै विदेशी मुद्रा कारोबारको अनुमति दिने गरिएको छ ।

नवीकरण नभएको होटल याक एण्ड यती, र्‍याडिसन र दि एभरेष्टले स्तर वर्गीकरण कायम रहेको प्रमाण पुर्‍याउन नसक्दा विदेशी मुद्रा कारोबारको लागि राष्ट्र बैंकलाई सिफारिससमेत नभएको विभागको भनाइ छ । तीनतारे माथिका होटल र लक्जरी रिसोर्ट तथा लजले पर्यटकीय सेवा सुविधा लिन अनिवार्य पर्यटन विभाग पुग्नुपर्छ ।


राजु बास्कोटा