भारतसँगको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सांसदहरुको माग



काठमाडौं । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रतिपक्ष दलहरुले भारतसँग हालै गरिएको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् ।

आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सो सम्झौता तत्काल संसदीय समितिमा पेस गर्न सरकारसँग माग गरेका हुन् ।

एमालेका सचेतक बर्तौलाले सो सम्झौता तत्काल समितिमा पेस गर्न दिएको निर्देशन सरकारले अटेर गरेको भन्दै आपत्ति समेत जनाए । संसदीय समितिले दिएको निर्देशन सरकारले पालना नगर्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ ।

‘हामीले निर्देश गरे बमोजिमको सम्झौताको कपीहरु हामीले पाउनु पर्दथ्यो । त्यसकारण अहिलेसम्म त्यो नहुने कुरा, संसदीय समितिलाई सरकारले यस प्रकारले अनदेखा गर्ने, हेप्ने, संसदीय समितिको निर्देशनलाई नमान्ने । यो कुरा किमार्थ स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘संसदको समितिले गरेको निर्देशनलाई अस्वीकार गर्ने यो सरकारको जे रवैया छ । त्यो खेदजनक छ । त्यसकारण गम्भिरताका साथ यदि आएको छ भने पहिला उपलब्ध गराइयोस् ।’

रास्वपाका प्रमुख सचेतक परियारले संसदीय समितिले दिएको निर्देशन अवमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराए । सो सम्झौताको प्रति तत्काल उपलब्ध गराउन सरकारलाई फेरि रुलिङ गर्न पनि कानुन, न्याय तथा मानव अधिकार समितिका सभापतिलाई उनले सुझाव दिए ।

प्रमुख सचेतक परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले आएर समितिमा सो प्रति उपलब्ध गराउँछु भनेको भए पनि हालसम्म नआउने कुरा उचित नभएको बताए ।


क्लिकमान्डु