रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा संस्थागत लगानीकर्ताले बोलकबोल पेश गर्ने आज अन्तिम दिन



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको साधारण सेयर (आईपीओ) मा योग्य संस्थागत लगानीकर्ताले बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो ।

आईपीओमा योग्य संस्थागत लगानीकर्ताले आजसम्म बोलकबोल पेश गर्न सक्नेछन् । कम्पनीले माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत संस्थागत लगानीकर्ताका लागि सेयर निष्कासन गरेको छ ।

रिलायन्स स्पिनिङ मिल्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमा ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो ।

बोलकबोलका प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा रहेको छ । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने छ । संस्थागत लगानीकर्तालाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने छ ।

कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको सेयर कट अफ प्राइसमा बाँडफाँट हुनेछ । उक्त कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य कायम गरेर सर्वसाधारणलाई निष्कासन हुनेछ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु