राष्ट्रिय सभामा भोट हाल्न किन गएनन् बालेन ?



काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनका लागि आज भइरहेको निर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मतदान नगर्ने भएका छन् ।

आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा शाह सहभागी नभएका हुन् । शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले कार्यव्यस्तताका कारण मतदानमा सहभागी नभएको बताए ।

२०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर बनेपछि पहिलोपट भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सहभागी नभएका हुन् ।

महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् । उनी एमालेबाट उपप्रमुख निर्वाचित भएकी हुन्।

राष्ट्रिय सभामा बागमती प्रदेशका ४ सिटका लागि मतदान भइरहेको हो । प्रतिस्पर्धामा ६ दलका १५ जना उम्मेदवार रहेका छन्।

सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत, अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल उम्मेदवार रहेका छन् ।

त्यस्तै एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, अन्यतर्फ विवेक देवकोटा, दलिततर्फ ध्रुवराज विक, अपाङ्गतातर्फ त्रिलोचन निर्मल पौडेललाई उम्मेदवार बनाएको छ ।

राप्रपाबाट महिलातर्फ बालिका डल्लाकोटी, अन्यतर्फ हेमजङ्ग गुरुङ र अपाङ्गतर्फ भरतमणि भट्ट उम्मेदवार बन्दा नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ सङ्गीता नेपाली, अपाङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ ।

बागमती प्रदेशमा ११० प्रदेशसभा सदस्य र २३७ पालिका प्रमुख–उपप्रमुख गरी ३४७ मतदाता छन् । राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।


क्लिकमान्डु