सिरियामा इरानी सुरक्षाबलमाथि इजरायलको आक्रमण: मध्यपूर्वमा बढ्दो तनाबले विश्व व्यापारमा समस्या थपिँदो



एजेन्सी । सिरियाको राजधानीमा भएको हवाई हमलामा इरानी सुरक्षा बलका पाँच वरिष्ठ सदस्यहरुको ज्यान गएको छ ।

इरानका राष्ट्रपति इब्राहिम रईसीले यो घटनामा आफूहरुले जवाफ दिने चेतावनी दिएका छन् । रईसीले यो घटनाको प्रमुख जिम्मेवार इजरायल भएको ठम्याएका छन् ।

इजरायलले यो घटनामा आजसम्म पनि कुनै टिप्पणी गरेको छैन । तर, विगतबाट नै इजरायलले सिरियामा इरानसँग सम्बन्धित रहेका ठाउँहरुमा निशाना बनाउने र हमला गर्दै आएको छ ।

इजरायलमा गत अक्टुबर ७ मा हमासले गरेको हमलापछि सुरु भएको इजरायल र गाजा युद्धका बीच मध्यपूर्वका क्षेत्रमा अहिले यस्ता हमलाहरुमा वृद्धि भएका छन्।

लाल सागरमा जहाजमाथि हुथी विद्रोहीको आक्रमण, यमनमा रहेका विद्रोहीमाथि इजरायलको हमला तथा सिरियाको राजधानीमा हवाई हमलाजस्ता घटनाहरु पछिल्ला दिनमा बढेका छन् ।

इरानी राष्ट्रपति रईसीको आधिकारिक वेबसाइटमा सार्वजनिक भएको विज्ञप्तिमा इजरायलको हमलामा मारिएकाहरुको बदला लिने चेतावनी दिइएको छ । उनले भनेका छन्, ‘इरानका पाँच प्रतिष्ठित सल्लाहकारहरुको हत्या भएको हो ।’

उनले मारिएका पाँच अधिकारीलाई शीर्ष स्थानमा रहने शहिद बताएका छन् । यो हवाई हमलालाई आतंकी र अपराधिक पनि भएको रइसीको बयानमा उल्लेख छ।

‘यसले इजरायलको ठूलो हतास र प्रतिरोधि मोर्चाका लडाकुहरुविरुद्ध उसको कमजोरी देखाउँछ । हामी यसमा चुप रहनेछैनौं’विज्ञप्तिमा भनिएको छ ।

इरानको विदेश मन्त्रालयले इजरायलको यो हमलालाई आक्रमक र उत्तेजक भएको भन्दै अन्तर्राष्ट्रिय समुदायले यसको निन्दा गर्नुपर्ने जनाएको छ ।

सिरियामा सन् २०२१ मा गृहयुद्ध सुरु भएसँगै इरानका रिभोलुस्नरी गार्डहरुको ठूलो संख्या त्यहाँ उपस्थित छ । उनीहरुको काम भनेको राष्ट्रपति बसरअल असदको विरुद्धमा ठूलो संख्यामा उठिरहेका विद्रोहीहरुलाई चुप लगाएर बसर शासनलाई सहयोग पुर्‍याउनु हो । इरानी रिभोलुस्नरी गार्ड (आईआरुजिसि) इरानको एउटा ठूलो सैन्य, राजनीतिक र आर्थिक शक्ति हो ।

गत शनिबार भएको आक्रमण सिरियाको दक्षिण पश्चिमी दस्मिक क्षेत्रमा माजेहको नजिक भएको थियो । यो क्षेत्रमा एक सैन्य विमानस्थलका साथै दस्मिकको संयुक्त राष्ट्र संघीय मुख्यालय, दूतावास र केही रेस्टुरेन्टहरु रहेका छन् ।

इरानको अर्धसरकारी समाचार एजेन्सी मेहरले बताएअनुसार हमलामा आईआरजीसीका सिरिया इन्टेलिजेन्सका प्रमुख तथा उनका सहयोगीका साथै अन्य सैनिकहरुको निधन भएको छ ।

बेलायतस्थित गैरसरकारी संस्था सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सका अनुसार यो हवाई हमलामा १० जनाको मृत्यु भएको छ । जसमा आम मानिससँगै रिभोलुस्नरी गार्डका नेताहरु सामेल रहेका छन् ।

सिरियन अरब न्युज एजेन्सीले हवाई हमलाका क्रममा केही मिसाइल रोक्न सफलता मिलेको थियो । तर बसोबास भइरहेको भवनमा पनि मिसाइल आक्रमण भएका कारण केही मानिस घाइते भएका छन् । यो हमलाले सिरियामा कैयौं संरचनाहरु भने नष्ट भएका छन् ।

गत ७ अक्टुबरमा सुरु भएको हमास र इजरायलको युद्धपछि मध्यपूर्व क्षेत्रमा कैयौं उतारचढाव आइरहेका छन् । हमासको आक्रमणमा १३ सय जनाको मृत्यु भएको जनाइएको छ भने २४० मानिसलाई बन्धन बनाएर इजरायलबाट गाजातर्फ लगिएको छ । अहिले पनि १३२ भन्दा धेरै मानिस बन्धकको रुपमा सो क्षेत्रमा नै रहेको अनुमान गरिएको छ ।

आक्रमणपछि इजरायलले पनि हमासविरुद्धमा सैन्य अभियान चलाएको थियो । जसमा हालसम्म २४ हजार ९ सयभन्दा धेरै मानिसहरुको मृत्यु भएको छ । इजरायलले आफ्नो दाबीमा भने हवाई र जमिनमार्फत गाजामा गरिरहेको सैन्य अभियान हमासलाई अन्त्य गर्नका लागि भएको बताएको छ ।

द्वन्द्व जारी रहँदा यसले बृहत रुप लिन सक्ने र युद्ध झन बढ्ने जोखिम पनि देखिएको छ । मुख्य गरि एकअर्काका प्रमुख प्रतिद्वन्द्वी इरान र इजरायलबीच पनि युद्ध हुन सक्ने जोखिम छ । र अहिले यसका झिल्काहरु देखिएका छन् ।

इजरायलको निशानामा हमास छ र इरानले हमासलाई समर्थन गर्छ । केही समयअघिबाट इजरायलले इरान समर्थित हिजबुल्लाहबाट सिरियातर्फ गइरहेका हतियार गइरहेको भन्दै उनीहरुमाथि पनि आक्रमण गरिरहेको छ ।

इजरायलले लेबनानमा पनि हिजबुल्लाहमाथि हमला गरिरहेको छ ।

इरान र सिरियाको समर्थनमा रहेका समूहहरुले पनि यो क्षेत्रमा रहेका अमेरिकी सेनालाई निशाना बनाइरहेका छन् । अर्कातिर, अमेरिका र बेलायत भने यमनमा इरानको समर्थनमा रहेका हुथी विद्रोहीमाथि हमला गरिरहेका छन् ।

अवस्था झन् चिन्ताजनक बन्दै युद्ध पाकिस्तानतर्फ विस्तार भएको आशंका गरिएको छ । गत साता इरानले आफ्नो छिमेकी देश पाकिस्तानमाथि आक्रमण गरेको थियो । मंगलबार इरानले पनि यो कुरा स्वीकार गर्दै दक्षिण पश्चिमी पाकिस्तानमा मिसाइल र ड्रोन हमला गरेको जनाएको छ । यो हमलामा दुई बालबालिकाको मृत्यु भएको छ । इरानले भने पाकिस्तानमा गरेको हमलाबारे स्पष्टिकरण दिँदै ‘इरानी आतंकवादी समूह’लाई निशाना बनाएको जनाएको छ ।

मध्यपूर्वमा बढ्दै गएको यो तनाबले विश्वको व्यापारलाई नै तहस-नहस बनाउन सक्ने सामथ्र्य राख्छ । प्रमुख वितरण प्रणालीका लागि प्रयोग हुने समुन्द्री मार्ग लाल सागर, सुएज क्यानललगायतको क्षेत्र पनि यहीँ छन् भने विश्व व्यापारमा प्रमुख रहेको इन्धनको वितरण पनि मुख्य गरि मध्यपूर्वबाट नै भइरहेको छ । मध्यपूर्व युद्धमा होमिदा यसले विश्व व्यापारलाई पुनः सुस्त बनाएर वितरणमा असमानता ल्याउने, मूल्यवृद्धि हुनेजस्तो जोखिम बढाएको छ ।

बीबीसीबाट


क्लिकमान्डु