लगानीकर्ता ल्याएपछि मात्रै कानुन बनाउने होइन पहिले वातावरण बनाउनुपर्ने



काठमाडौं । नेपालमा लगानीकर्ता ल्याएपछि मात्रै कानुन बनाउने नभएर पहिले विदेशी लगानीको वातावरण बनाउनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

सोमबार राजधानीमा नेपाल एसोसिएसन अफ हम्फे फेलोले आयोजना गरेको ‘लगानी मैत्रीसम्बन्धी वातावरण’ सम्बन्धि एक कार्यक्रममा विदेशी लगानी भित्र्याउनमा सरकारले नै सहजीकरण गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

कार्यक्रममा लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) राधेश पन्तले लगानीकर्ता ल्याएपछि मात्रै कानुन बनाउने होइन पहिले कानुनी व्यवस्था तय गरेर मात्रै उनीहरुलाई आकर्षित गर्नुपर्ने बताए । उक्त कार्यक्रमको प्यानल डिस्कसनमा नेपालको पूर्वाधार विकासमा लगानीका गर्न विदेशी नै ल्याउनुपर्ने हो ? भन्ने सहजकर्ता घनश्याम ओझाको प्रश्नमा पन्तले भने ‘सरकारले आफ्नो क्षमता नबनाएपछि विकल्प खोज्नु नै पर्छ ।’ सरकारले पहिले लगानीकर्ता बोलाउने अनि ऐन नियम बनाउने नभएर कानुनी व्यवस्थाबाटै सहजीकरण गर्नुपर्ने तर्क पन्तको छ ।

नेपालमा विदेशी लगानी भित्रन नसक्नुमा नीतिगत समस्या देखाउने गरिएको छ तर हाम्रो नेतृत्वको काम नगर्ने र गफ गरेर मात्रै समय बिताउने गरेकोले पनि सधै लगानीकर्तालाई सहजीकरण गर्नुपर्छ भन्ने गरिएको बुझाई उनको छ ।

‘नेपालमा कर्मचारीदेखि राजनीतिज्ञसम्मले केही काम गर्न खोज्यो कानुनले दिँदैन भन्दै पन्छने गरिएको छ । तर, जहाँ समस्या छ त्यही कानुनमा संशोधन गरेर सहजीकरण गर्ने सरकारले गर्न नसकिरहेको छैन ।’

पन्तले नेपलामा विदेशी लगानीकर्तालाई विमानस्थलदेखि नै रातो कार्पेट विछ्याउनुका सार्थै आम जनतालाई समेत बुझाउनुपर्ने बताए । उनले भने ‘यहाँ त जनतालाई विदेशी लगानी र सम्बन्धित योजनाको बारेमा सकारात्मक सूचना दिन नसक्दा पनि समस्या हुने गरेको छ ।’

कार्यक्रममा लगानी बोर्डका सीईओ सुशील भट्टले प्रोजेक्ट अनुसारको लगानी खोज्नुपर्ने, जहाँ बढी सम्भावना र लाभ हुन्छ त्यहीँ लगानी आकर्षित गर्नुपर्ने बताए ।

भट्टले नेपालमा विदेशी लगानी बढाउनैपर्ने र त्यो पनि पीपीपी मोडलमा भित्र्याउनुपर्ने तर्क दिए । भट्टका अनुसार लगानी प्राप्ति गर्न ग्राउन्ड लेबलमै काम हुनुपर्छ । नेपालले तेस्रो लगानी सम्मेलन आयोजनाको तयारी गर्दै गरेको अवस्थामा हाम्रो आवश्यकता नै ठूला परियोजना बनाउने बाटो खोज्नु पर्ने भट्टको भनाइ छ ।

उद्योग मन्त्रालयका सहसचिव बाबुराम गौतमले भने नेपालले प्रवद्र्धन गरेको र पछिल्लो समय सहजीकरण भएकै कारण लगानीको प्रतिवद्धता बढ्दै गरेको बताए । ‘राष्ट्र बैंक, लगानी बोर्ड, उद्योग विभागलाई गाली गर्दै बस्ने भन्दा पनि विगतको तुलनामा लगानीको वातावरण कहाँ बिग्रियो र कति बन्यो भन्ने विषयमा पनि चासो हुनुपर्छ’ उनले भने ।

सरकारले सहजीकरण गरेकै कारण पछिल्ला वर्षहरुमा विदेशी लगानी प्रोत्साहन भइहेको र विभिन्न क्षेत्रगत रूपमा विदेशी लगानीको आकर्षण बढेको दाबी पनि गौतमको छ ।


क्लिकमान्डु