६ महिनामा साढे १४ अर्बभन्दा बढीको विद्युतीय सवारी आयात



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १४ अर्ब ७३ करोड रुपैयाँ बराबरको १२ हजार १ सय १७ थान विद्युतीय सवारी साधन नेपालमा भित्रिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार बिजुलीबाट चल्ने तीन चक्केसहित जीप, कार र भ्यान ठूलो संख्यामा आयात भएको हो ।

यो अवधिमा ११ देखि १४ सिट क्षमताको ५८ करोड रुपैयाँ बराबरको १ सय ८९ वटा मिनिबस चीनबाट आयात भएको छ । त्यसैगरी १५ देखि २५ सिट क्षमताको २२ करोड ६५ लाख रुपैयाँबराबरको ६७ वटा मिनिबस आयात भएको छ ।

न्यूनतम ५० किलोवाटदेखि अधिकतम ३ सय किलोवाटसम्मको विद्युतीय सवारी आयात भएको हो । यस्ता सवारीसाधन मध्ये सबैभन्दा बढी उत्तरी छिमेकी मुलुक चीन र भारतबाट आयात भएको छ । सबैभन्दा कम जर्मनी र कोरियाबाट बिद्युतीय सवारी आयात भएको हो ।

विद्युतीय सवारी साधान आयात हुँदा सरकारले ६ अर्ब २३ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा भने ९ अर्ब १० करोड ६४ लाख मूल्यबराबरका ३ हजार ६ सय ८६ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए । गत वर्ष २०७९/८० मा ११ अर्ब ८४ करोड ८ लाख मूल्यबराबरका ४ हजार ५० वटा विद्युतीय सवारी साधन आयात भएको थियो ।


क्लिकमान्डु