त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सशस्त्र प्रहरी सुरक्षा बेस स्थापना गरिएको छ।

सशस्त्र प्रहरी बलले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली परिचालन हुने गरी उक्त बेस स्थापना गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले बताए।

त्यसैगरी विपद्जन्य घटनामा तत्काल परिचालन हुने गरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। विपद् व्यवस्थापनको काममा तत्काल परिचालन गर्नका लागि ती बेस स्थापना गरिएको पनि प्रवक्ता खड्काले बताए।

बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बेलले प्रतिआतंकवाद उपशाखा स्थापना गरी काम सुरु गरेको छ। सामाजिक सञ्जालको दुरुपयोग रोक्न सोसम्बन्धी डेस्क नै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खड्काले बताए।

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र सीमा सुरक्षाका लागि विशिष्टीकृत जनशक्ति तयार पार्नका लागि काठमाडौँको मातातीर्थमा पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एण्ड डिसएष्टर म्यानेजमेण्ट स्टडिज प्रोग्राम नै सञ्चालनमा ल्याएको छ।

सशस्त्र प्रहरी बलका अधिकृतहरुको बढुवाका लागि सो कोर्सलाई अनिवार्य उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्थासमेत गरिएको पनि बलका प्रवक्ता खड्काले बताए।

त्यसैगरी सशस्त्र प्रहरी बलले वातावरणमैत्री कार्यक्रमअन्तर्गत आन्तरिक रुपमा प्लाष्टिकका सामग्रीहरुको प्रयोगमा सकेसम्म रोक लगाउने नीति पनि लिएको छ।


क्लिकमान्डु