अर्जेन्टिनी स्टार मेसीले जिते फिफा वर्ष खेलाडीको अवार्ड



काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

सोमबार लन्डनमा आयोजित अवार्ड समारोहमा मेसीले म्यानचेस्टर सिटीका एर्लिङ हल्यान्ड र पेरिस सेन्ट जर्मन (पीएसजी)का केलियन एमबाप्पेलाई पछि पार्दै ‘द बेस्ट’ अवार्ड जितेका हुन् । सन् २०२३ मा आठौंपटक बालेन्डोर जितेका उनी वर्ष खेलाडी बनेका हुन् । तर उनी कार्यक्रममा भने सहभागी भएका थिएनन् ।

म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन वर्षको उत्कृष्ट गोलकिपर चुनिदा रियल मड्रिडका थिबाउट कोर्टुवा र अल हिलालका यासिन बोनोउ पछि परे ।

त्यस्तै पुरुष वर्ष प्रशिक्षक सिटीकै पेप ग्वार्डिओला चुनिएका छन् । ब्राजिलले ‘फेयर प्ले’ अवार्ड जितेको छ ।

महिलातर्फ स्पेनकी आइताना बोनमती वर्ष खेलाडी घोषित भइन् । गत वर्ष स्पेनले फिफा महिला विश्वकपको उपाधि र बार्सिलोनाले महिला च्याम्पियन्स लिगसँगै ला लिगा जित्दा उनी टिमकी महत्त्वपूर्ण सदस्य थिइन् ।

महिला वर्ष प्रशिक्षकको अवार्ड इंग्ल्यान्डकी सरिना वेग्मनले जितिन् । उनी चौथोपटक फिफाको वर्ष प्रशिक्षक चुनिएकी हुन् ।


क्लिकमान्डु