आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण



काठमाडौं । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी नियमितरुपमा उपलब्ध गराइने बताएका छन् ।

सिंहदरबारमा आज आयोजित मेलम्ची खानेपानीको पथान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिगोरुपमा खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए ।

प्रधानमन्त्री दाहालले खानेपानीको दिगो व्यवस्थापनका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे । काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई ध्यानमा राखेर खानेपानीको बढ्दो माग र आपूर्ति पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।

प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो ।

बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो ।

कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ ।

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन । मेलम्चीको पानी नियमितरुपमा काठमाडौँ ल्याउन सरकारले प्रयास जारी राखेको छ ।


क्लिकमान्डु