पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प प्रस्तुत



चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताएकी छन् ।

भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँगको छलफलमा प्रमुख दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने उल्लेख गरिन् ।

मन्त्री ज्वालालाई प्रमुख दाहालले रेलमार्गको कार्य स्थानीयसँगको सहयोग र सहकार्यबाट टुङ्गोमा पुराउनुपर्ने धारणा राखिन् ।
‘रेल मार्गका लागि विकल्पहिन कुरा गर्न मिल्दैन, उनले भनिन्,‘अहिलेको मार्गबाट धेरै क्षति पुग्छ भने हामीले नै अर्को विकल्प दिन सक्नुपर्छ । हामी रेलवे लाईन पनि चाहियो, भरतपुरमा रेलवे लाईन नहुँदा भरतपुर विकासबाट पछि पर्ने छ ।’

प्रमुख दाहालले अहिलेको विषयलाई पुनअवलोकन हुनुपर्‍यो भनि छिटोभन्दा छिटो स्थानीयको माग सम्बोधन गराउने उद्देश्यले सरोकारवालाबीच छलफल कार्यक्रम राखिएको प्रष्ट पारिन् ।

केही दिनअघि प्रस्तावित मार्गमा रेल विभागको सर्भे गर्ने काम सुरु भएसँगै स्थानीयहरु आन्दोलित भई महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अहिलेका लागि प्रस्तावित रेल मार्गको कार्य स्थगित भएको बताए । केही दिनमा रेल विभागको महानिर्देशकसहित प्राविधिक टोलीले विकल्प दिएका रुटको बारेमा अध्ययन गर्ने मन्त्री ज्वालाले जानकारी दिए ।

यस्ता आयोजनाहरु जनतासँगको छलफलको निष्र्कषपछि मात्रै अगाडि बढ्ने भएकाले तत्काल काम नहुने प्रष्ट पारे ।
छलफलका क्रममा चितवनका राजनीतिक दलका प्रमुखहरुले बिना कुनै छलफल रेलमार्गको कार्य अगाडि बढाउन नहुने मत व्यक्त गरेका थिए । उनीहरुले विकासको नाममा हुने विनाशले कुनै अर्थ नराख्ने बताए ।

कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले जनतालाई सुकुम्बासी बनाउने गरी निर्माण हुने आयोजनामा कुनै पनि सहमत हुन नसक्ने उल्लेख गरे । स्थानीयहरुको सुझाव संकलन एवम् छलफलका लागि महानगरपालिका प्रमुख दाहालको पहलमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिव केशव कुमार शर्मा र रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको छलफल आयोजना गरिएको थियो ।


क्लिकमान्डु