गुल्मीमा २३ करोडको सुन्तला उत्पादन



गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन्। सुन्तलाखेतीबाटै उनले वार्षिक लाखौंको आम्दानी गर्दै आएका छन् ।

‘एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल ८ लाखको बिक्री भयो”, हमालले भने, “यो वर्ष उत्पादन अलि घटेकाले छ लाखको सुन्तला बिक्री भयो ।’

सुन्तला लिन घरमै व्यापारी आउने गरेका छन् । अहिले उनले प्रतिकिलो ६५ देखि ७० मा सुन्तला बिक्री गरेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको प्रतिस्पर्धा भए पनि हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन् ।

‘यो पुखर्यौली पेसा हो, मैले व्यवसायीकरण गरेको मात्र हुँ’, उनले भने ।

उनले कूल १२ रोपनी जग्गामा सुन्तला खेती गर्दै आएका छन । अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भइरहेको उनले बताए । थप ४० हजार बिरुवा नर्सरीमा छन् । केही वर्षपछि ती बिरुवाले पनि उत्पादन दिँदा आम्दानी झनै बढ्ने हमाल बताए । सुन्तला बिक्रीको रकम घरखर्च चलाएर पनि बचत हुने गरेको हमालले बताए ।

नयाँ गाउँकै कमला पोखरेलले पनि यस वर्ष सबै सुन्तला घरबाटै प्रतिकिलो ६५ मा बिक्री गरेका छन् । गत वर्ष ८० हजारको सुन्तला बिक्री गरेका उनले यो बर्ष वर्ष पनि सोही रकमकै हाराहारीमा बिक्री गरेको बताए । सुन्तला लिन व्यापारी घरमै आउने भएकाले बजारको कुनै समस्या छैन ।

‘बारीमा तीन सय बोट छन्, केही साना बिरुवा पनि छन्’, उनले भने, ‘सुन्तला बिक्रीको रकमबाट घरमा चाहिने दैनिक उपभोग्य सामग्री किन्न सहयोग भएको छ ।’

पोखरेल र हमाल त सुन्तला बिक्री गर्ने केही प्रतिनिधि पात्र मात्रै छन् । उनीहरुजस्तै जिल्लामा धेरैले सुन्तला बिक्री गरेका छन् ।

यस वर्ष जिल्लामा २३ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । त्यसमा १२ करोड ८४ लाखको सुन्तला जिल्लाभन्दा बाहिर निर्यात भएको केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए । सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ भनी घोषणा गरेको छ ।

गुल्मीमा कूल एक हजार २७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादन योग्य जग्गा छ । त्यसमध्ये यस वर्ष छ सय २३ हेक्टर क्षेत्रफलमा ६ हजार पाँच सय ७२ दशमलव चार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । अहिले कूल सुन्तला बगैँचाको ६० प्रतिशत बोट फलेका छन् ।

आव २०७९/८० मा कृषक, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पालिकाको लगानीमा १ सय ३० हेक्टर क्षेत्रफलमा थप सुन्तलाखेती विस्तार गरिएको केन्द्रका प्रमुख भण्डारीले बताए ।

जिल्लाका पालिकाले पनि सुन्तलाखेती प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको धुर्कोट, रेसुङ्गा, मदानेलगायत क्षेत्रमा सुन्तलाखेतीका लागि चक्लाबन्दी कार्यक्रम नै सुरु गरिएको छ । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले धुर्कोटमा सुन्तलाको बजारीकरणमा कुनै समस्या नभएको बताए ।

उनले सुन्तलाको उत्पादन वृद्धिका लागि सिँचाइ, प्रविधिलगायत विषयमा पालिकाले सहयोग गर्ने प्रतिक्रिया दिए ।


क्लिकमान्डु