पाँच बर्षदेखि सडाइदैं अनुदानको ८० क्वीन्टल नुन



बाजुरा । कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको १ सय ६० बोरा नुन (८० क्विन्टल) अलपत्र अवस्थामा रहेको छ ।

लामो समयदेखि उक्त नुन खपत प्रयोजनका लागि रेखदेखसमेत नहुँदा सड्न लागेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाएर राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन् ।

कवाडीस्थित गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजी नगर्दा अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन् । ठेकेदारबाट अनुदानबापतको नुन कवाडीसम्म पुगे पनि समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा गोदाममै अलपत्र बनेको छ ।

नुनको पाकेट बाहिर लेखिएको मिति हेर्दा २०७५ सालमा ढुवानी भएको देखिन्छ । पाकेटमा लेखिएको मितिका कारण धनगढीको नभई नेपालगञ्जबाट हुम्लाका लागि ढुवानी भएको कर्मचारी बताउँछन् । उक्त मात्राको नुन ढुवानी गर्ने ठेकेदार को हुन्, कसको ठेक्का हो र ढुवानी कसले गरेको हो भन्नेबारे यकीन हुन नसकेको स्थानीयको भनाइ छ ।

हुम्लाको ठेकेदारले नुन ढुवानी गरेको हुनसक्ने आशङ्का भए पनि ठेकेदारको नाम भने पहिचान हुन नसकेको हिमाली–५ का वडाध्यक्ष प्रदीप बुढथापाले बताए । नुन ढुवानी भएदेखि हालसम्म ठेकेदार सम्पर्कमा नआएको र अन्य कुनै निकायबाट पनि खोजी नभएको उनको भनाइ थियो । साल्ट ट्रेडिङ कम्पनी नेपालगञ्जको नुन भएकाले बाजुराको नभई हुम्लाको हुनसक्ने आशङ्का स्थानीयले गरेको उनले बताए ।

अनुदानको नुन कवाडीका स्थानीय प्रकाश बुढथापाको गोदाम घरमा विगत पाँच वर्षदेखि राखिएको छ । त्यतिबेला हुम्ला जाने सडक नहुँदा कवाडीमा गोदाम बनाएर नुन राखिएको हुनसक्ने भन्दै वडाध्यक्ष बुढथापाले हालसम्म कसैले खोजी भने नगरेका जानकारी दिए ।

‘नुन ढुवानी गर्दा ठेकेदारले स्थानीय बुढथापाको घर खाली भएकाले निजको घरलाई गोदामका रुपमा प्रयोग गरेका हुन् । गोदाममा ताला लगाएर गएदेखि ठेकेदार फर्किएका छैनन्’, उनले भने, ‘घरमा कोही नभएको समयमा ठेकेदारले नुन राखेकाले घर मालिकले भाडा दिने हुन्रहोइन भन्ने आशङ्काले अर्को ताला लगाइएका छन् । लामो समयसम्म ठेकेदार र घर मालिकको सम्पर्क नहुँदा दुईवटै ताला खोलिएका छैनन् ।’

दुर्गमका नागरिक नुन अभावमा चर्को मूल्य तिरेर किन्नुपर्ने अवस्था भए पनि सहुलियत अनुदानको नुन पाँच वर्षदेखि बाजुरामा थन्किएर म्याद सकिँदासम्म पनि कसैको ध्यान जान सकेको छैन । दुर्गम क्षेत्रका नागरिक नुन अभावमा तड्पिरहेका बेला यसरी गोदाममा थन्किनुले नागरिकमा शङ्का उत्पन्न भएको छ ।

बाजुरामा लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको नुनको पुष्टिका लागि विभिन्न निकायसँग बुझ्दा कुनै निकायबाट गतिलो जवाफ प्राप्त हुन नसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताए । अनुदानको नुन कवाडीमा पाँच वर्षदेखि अलपत्र परेको खबर आएकाले प्रहरी परिचालन गरी अनुसन्धान गर्न लगाइएको उनले जानकारी दिए ।

‘अहिले नै यही भन्न सकिने अवस्था छैन । प्रहरीको प्रतिवेदन आएपछि मात्र कवाडीमा नुन गोदाममा राखेर सम्पर्कविहीन भएका ठेकेदारसहितको खोजी गर्ने छौँ’, प्रजिअ पोखरेलले भने, ‘यसरी लुकाइछिपाइ राखिएको नुनको वास्तविकता खोजी गर्न प्रहरी परिचालन भइसकेकाले शीघ्र यसबारे थप तथ्य सार्वजनिक गर्ने छौँ ।’

सकियो नुनको म्याद

‘नुन गोदामका ढोका जीर्ण बन्दै गएका र नुनसमेत चोरी हुन थालेको छ । ढुवानी गरेर बाजुरा पुर्याइएको नुन समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा प्रयोग गर्ने म्याद सकिएको छ’, नुन डिपो केन्द्र कोल्टी प्रमुख जयराम रेग्मीले भने । प्याकिङ भएको दुई वर्षभित्र नुन बिक्री गरिसक्नुपर्ने भए पनि पाँच वर्षसम्म कवाडीमा भेटिएको उक्त नुनको म्याद सकिएको उनले जानकारी दिए ।

रेग्मीले दुई वर्षभित्र नुन प्रयोग गरिसक्नुपर्नेमा पाँच वर्षदेखि गोदाममा रहेकाले म्याद सकिएको बताए । उनले उक्त नुन प्रयोग नगर्न आग्रह गर्दै प्रयोग गर्दा स्वास्थ्यमा असर पर्ने बताए ।


क्लिकमान्डु