नेपालको पासपोर्टको स्तर एक तह माथि उक्लियो



काठमाडौं । विश्वभरका राहदानीको सूचीमा नेपालको पासपोर्ट एक तह उक्लिएको छ । हेन्ली ग्लोबलको बर्सेनि सार्वजनिक हुने ग्लोबल पासपोर्ट र्‍याङकिङ अनुसार सूचीमा नेपालको पासपोर्ट सन् २०२४ का लागि ९८औं नम्बरमा उक्लिएको हो ।

गत वर्ष सन् २०२३ मा नेपालको पासपोर्ट ९९औं स्थानमा थियो । हेन्लीका अनुसार नेपालको पासपोर्टको प्रयोग गरेर गत वर्ष ३९ वटा देशमा बिनाभिसा यात्रा गर्न सकिन्थ्यो । सन् २०२४ मा भने नेपालबाट ४० वटा देशमा बिनाभिसा यात्रा गर्न सकिने अवस्था छ ।

एक स्तर माथि उक्लिए पनि नेपालको पासपोर्ट अन्य देशको तुलनामा भने कमजोर नै छ । यो वर्षकै सूचीअनुसार पनि नेपालभन्दा अघि उत्तर कोरिया, सुडान, लेबनान, बंगलादेशलगायतका देश छन् ।

यो वर्षको सूचीमा सबैभन्दा शीर्ष स्थानमा फ्रान्स, जर्मनी, इटली, सिंगापुर, जापान र स्पेन छन् । यी देशहरुको पासपोर्ट प्रयोग गरी १९४ देशमा बिनाभिसा यात्रा गर्न सकिन्छ ।


क्लिकमान्डु