१० हजार किसानलाई दुधमा अनुदान दिँदै भरतपुर महानगरपालिका



चितवन । भरतपुर महानगरपालिकाले पशुपालक १० हजार किसानलाई दुधमा अनुदान दिने भएको छ । महानगरले गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दुध बिक्री गरेका ती किसानलाई ६ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दुध बिक्री गरेबापत यो अनुदान पाउने छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दुधमा अनुदान दिन थालिएको हो । उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो ।

त्यसपछिका दुई वर्ष प्रतिलिटर एक र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर तीन अनुदान दिइँदै छ । गत वर्षको दुधको अनुदान रकम यो वर्ष दिइँदै छ ।

बजेटमा पाँच करोड ५० लाख दुधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पुरक बजेटमार्फत ८७ लाख थप गरिएको प्रमुख दाहालले जानकारी दिइन् । उनका अनुसार यति ठूलो रकम दुधमा अनुदान दिने स्थानीय तह भरतपुर हो ।

किसानलाई दुधमा अनुदान दिएसँगै दुध उत्पादन बढेको छ । अघिल्लो वर्ष दुधमा अनुदान पाँच करोड १० लाख दिइएको थियो । दुधको उत्पादन बढेसँगै अनुदान रकम थपिएको हो । ‘अन्य क्षेत्रसँगै कृषि र पशुपालनमा महानगरले प्राथमिकता दिएर काम गरिरहेको छ,’ उनले भनिन् ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार सहकारीमार्फत कृषकको बैंक खातामा अनुदान रकम पुर्‍याइनेछ । अनुदान पाउने भएसँगै कृषक उत्साहित भएको उनले बताए । ‘हामीले बाँड्ने रकम ठूलो छ । धेरै कृषक यसबाट लाभान्वित हुनुभएको छ,’ उनले भने । कृषि र पशुपालनमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा महानगर रहेको उनले बताए ।

महानगरका पशुसेवा शाखा प्रमुख श्यामराज देवकोटाका अनुसार सहकारी र फार्मबाट आवेदन आइसकेकाले माघको पहिलो सातादेखि अनुगमन थालिँदै छ । यससँगै प्रक्रिया अघि बढाएर वैशाखसम्ममा अनुदान रकम कृषकको खातामा पुर्‍याइने उनले बताए ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले कृषिमा अनुदानका लागि आठ करोड विनियोजन गरेको थियो । पुरक बजेटमार्फत ८७ लाख थप गरिएको हो । यससँगै महानगरपालिकाले माछा पोखरीमा विद्युतको ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

पशुचौपायालाई नाम्ले जुकाको औषधि निःशुल्क वितरण, घरमा गएर बाँझोपन परीक्षण, काउ म्याट वितरण, पशु स्वास्थ्य शिविर गर्दै आएको छ । निर्वाहमुखी कार्यक्रमअन्तर्गत, बाख्रा, बङ्गुर, कुखुरा, हाँसमा अनुदान दिँदै आएको छ ।


क्लिकमान्डु