काठमाडौंको शंखरापुरबाट अवैध लागु औषधसहित ८ जना पक्राउ



काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ घट्टेडाँडाबाट अवैध लागु औषध गाँजा करिब २६ किलोसहित सोही ठाउँ बस्ने चन्द्रबहादुर लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले बुधबार दिउँसो लामाको टहरो तलासी गर्दा गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागु औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३२ मिलिग्रामसहित उर्लाबारी नगरपालिका-३ बस्ने २७ वर्षीय अर्जुन दाहाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ दुई ग्राम ५१० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका-३ बस्ने २२ वर्षीय महेश परियारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जनुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


क्लिकमान्डु