गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटालाई रास्वपाले गर्‍यो कारबाही



काठमाडौं । गौशाला २६ (परिवर्तित नाम) को तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेको छ ।

क्रिकेटर सन्दीप लामिछाने बलात्कारी ठहर भएपछि सामाजिक सञ्जालमा पीडितको पहिचान सार्वजनिक गरेका सापकोटालाई रास्वपाले निलम्बन गरेको हो ।

सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको जनाउँदै रास्वपाले उनलाई निलम्बन गरेको छ । सापकोटा रास्वपाका प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबु शाखा समितिका सदस्य थिए ।

सापकोटाले गौशाला २६ को तस्बिर सामाजिक सञ्जाल ट्विटर (एक्स)मा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको रास्वपाले जनाएको छ । अहिले उनले उक्त पोस्ट हटाइसकेका छन् ।

गोप्य राखिएको पीडितको पहिचान सार्वजनिक गर्न कानुनले रोक लगाएको छ । गोप्य राखिएका पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयतासम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफाअनुसार ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।


क्लिकमान्डु