रास्वपा र राप्रपा भन्छन्ः संक्रमणकालीन न्याय सहमतिबाटै अघि बढाऔँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरु सहमतिको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुंग्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले अफ्ठ्यारा महशुस गरिएको ठाउँमा उदारता देखाएर भएपनि विधेयक टुंग्याउनुपर्ने बताए ।

‘हामी धेरै नै नजिक भइसकेका छौँ । यो टुंग्याउने ठाउँमा पुगिसकेका छौँ । बाँकी जो छन् यसमा पनि छलफल गरेर एक ठाउँमा लैजान सकिन्छ । जतिपति अफ्ठ्यारा महशुस गरिएको छ, यसमा हाम्रो अलिकित व्यवहार, अनुभवबाट पन िहेर्नुपर्छ । यसमा संक्रमण कालीन न्यायको परिधिभित्र बसेर छलफल गर्नुपर्छ । संक्रमणकालीन न्याय जिम्मेवारी बोध र उदारतापना बिना सम्भव भएको छैन । सिमितता हुनु भएन’ उनले भने ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताए । उनले विधेयकलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु नहुने बताए ।

‘सहमतिबाट टुंगो लगाऔँ । प्रक्रियाबाट अघि बढाउने काम सकभर नगरौँ । किनभने हामीभित्र यतिमा पनि एउटा सहमति बन्न सकेन । यसलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु हुँदैन । किनभने पार्टीका सिद्धान्तहरु फरकफरक हुन्छन् । त्यस भन्दा माथि उठेर गर्नुपर्छ । अझै पनि दुई महिना थपौँ । टुंग्याऔँ’ उनले भने ।


क्लिकमान्डु