जिल्ला अदालतबाट बलात्कारी ठहर भएका लामिछाने क्यानबाट निलम्बित



काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको छ ।

क्यानले पुस २६ देखि लागू हुनेगरी लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका खेल गतिविधिबाट निलम्बन गरेको हो ।

अदालतबाट पुस १३ गते नै बलात्कारी ठहर भएका लामिछानेको सजाय नतोकिँदासम्म क्यान मौन बसेको थियो । बुधबार सजाय तोकिएपछि आफू राष्ट्रिय टिमबाट अलग भएको भन्दै लामिछानेले क्यानलाई पत्र पठाएका थिए ।

जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो । बुधबार बसेको न्यायाधीश ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउन फैसला गरेको थियो ।


क्लिकमान्डु