नेपाल र आयरल्यान्डका सांसदबीच शैक्षिक सहकार्यबारे छलफल



काठमाडौं । नेपाल र आयरल्यान्डबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ ।

नेपालको पाँच दिने भ्रमणमा रहेको आयरल्यान्डको माथिल्लो सभा साअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका सिनेटरसँग बुधबार संघीय संसद सचिवालयले शैक्षिक सहकार्यसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा गुणस्तरीय शिक्षा, स्तरीकृत परीक्षा, नवप्रवर्तन, अनुसन्धान, युवा परिचालन आदि विषयमा अनुभव आदानप्रदान र सहकार्य बढाउने सकिने विषयमा छलफल भएको छ । अध्यक्ष जेरीले सामुदाय र नागरिक क्षेत्रको सहकार्यका आधारमा शिक्षाको स्तरलाई माथि उठाउन र उच्च शिक्षाका क्षेत्रमा पनि नयाँ नयाँ सम्भावना खोज्न सकिने बताए ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विद्यालय शिक्षालाई कुन ढाँचामा सञ्चालन गर्दा गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेबारेमा समितिले विद्यालय शिक्षा विधेयकमाथि छलफल गरिरहेको जानकारी दिए ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विदेशी विद्यार्थीका लागि समेत आफूहरुले छात्रवृत्ति दिएको जानकारी दिँदै नेपाललाई शैक्षिक हब बनाउन प्रयास भइरहेको जनाए ।

संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले सचिवालयले पुस्तकालयलाई व्यवस्थित बनाउन र स्रोत केन्द्र सञ्चालन गर्न तयारी गरिरहेको अवगत गराए ।

उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले नेपालमा उत्कृष्ट उच्च शिक्षा दिलाउन यहाँका कलेज सक्षम रहेको स्पष्ट गर्दै विदेशका अशल अभ्यासलाई अनुशरण गरिने बताए ।


क्लिकमान्डु