बागमती प्रदेशका मुख्यमन्त्री भन्छन्: एक वर्षे कार्यकाल उपलब्धिमूलक रह्यो



मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो एक वर्षे कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले गरेका प्रमुख कार्य सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस अवधिमा प्रदेश सरकार तथा कानुनी मन्त्रिपरिषद्का २४ बैठक सञ्चालन भई १३८ निर्णय गरिएको साथै प्रदेशसभासमक्ष पेस भएका सातवटा ऐन जारी भएको जानकारी दिए ।

प्रदेश सरकारलाई संस्थागत र सुदृढ बनाउनका लागि आवश्यक कानुन तथा नीतिहरू तर्जुमा गरिएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको दोस्रो आवधिक योजना तयारीको कार्य सुरु गरिएको बताए ।

प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालय स्थापना गरी सबै जिल्लाबाट सेवा सञ्चालन गर्ने, भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको प्रबन्ध र कर्मचारी वृत्तिविकासका कार्यमा उल्लेखनीय उपलब्धि हासिल भएको उनको भनाइ छ ।

मुख्यमन्त्री जम्कट्टेलले संघ, अन्तर प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहसँग सहकार्य र समन्वय गर्नेमा उल्लेखनीय प्रगति भएको बताए । प्रदेशभित्रका स्थानीय तहको क्षमता विकासका लागि सरकारले गरेको वित्तीय हस्तान्तरण, लगानी र सहयोगले स्थानीय शासन सुदृढीकरणमा योगदान पुगेको उनले जनाए ।

नीतिगत, संस्थागत र कार्यप्रक्रियागत सुधारबाट सार्वजनिक सेवाप्रवाह जनमैत्री र शासन व्यवस्था जवाफदेही एवं पारदर्शी भई सुशासन कायम हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

सरकारले संविधान प्रदत्त अधिकारसम्बन्धी सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन प्रदेश निजामती सेवा ऐन स्वीकृत भई सङ्गठन संरचना तथा दरबन्दी व्यवस्थापन भएको, सडक, खानेपानी, सिँचाइलगायत भौतिक पूर्वाधार विकास, प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना, प्रदेश उच्च शिक्षा परिषद् गठन, प्रदेश शिक्षा नीति निर्धारण, प्रदेश अस्पतालको स्तरोन्नति गरी विपन्न असहायका लागि निःशुल्करूपमा स्वास्थ्य सेवा र अस्पतालमा शय्यामार्फत स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच बढाउन प्रदेश सरकार प्रयत्नशील रहेको भन्दै मुख्यमन्त्रीले प्रदेशभित्र नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता प्रदान गरी प्रदेश सरकारले स्थानीय भाषा संस्कृतिको संरक्षण र विकासमा महत्वपूर्ण योगदान गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

‘चेपाङ, चिउरी तथा चमेरो संरक्षण, गृहिणी महिला उद्यमशीलता, दलित समुदाय समग्र विकास, नमूना वडा समाजवादी, समुदायमा आधारित कृषि उत्पादनजस्ता नवीनतम् कार्यक्रममार्फत लैङ्गिक मूल प्रवाहीकरण र सामाजिक समावेशीकरण गरी प्रदेशबासीको रोजगारी र आयस्तर वृद्धिजस्ता बहुआयामिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको छ । यी उपलब्धि प्रदेशको समग्र विकासका दृष्टिले कोसेढुंगा नै हुन्,’ उनले भने ।

एक वर्षको अवधिमा स्वीकृत नीति तथा कार्यक्रमअनुसार सार्वजनिक सेवा प्रवाह, सामाजिक तथा पूर्वाधार विकासलगायत नागरिक सरोकारका हरेक पक्षमा सकारात्मक परिवर्तन ल्याउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । सरकारले १३ क्षेत्रमा गरेका विभिन्न प्रमुख कार्य समेटिएको पुस्तकसमेत प्रकाशन गरेको छ ।


क्लिकमान्डु