जबर्जस्ती करणी मुद्दाका प्रतिवादी किरण राई पक्राउ



काठमाडौं । जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी किरण राई पक्राउ परेका छन् । खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ ठेगाना भएका १९ वर्षीय राई रेड नोटिस जारी भएको पाँच दिनभित्रै पक्राउ परेका हुन् ।

नेसनल सेन्ट्रल ब्युरो एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनका लागि बुधबार नेपाल फिर्ता ल्याइएको छ । राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबर्जस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल सचिवालयबाट पुस २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरबाट नियन्त्रित लागूऔषध डाइजेपाम एक एम्पुल, फेनारगन एक एम्पुल र नुर्फिन एक एम्पुलसहित खोटाङ घर भई काठमाडौँ बल्खु डेरा गरी बस्ने १९ वर्षीय सुशान राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई  लागु औषधसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानका क्रममा हाल वतन नखुलेका बल्खु डेरा गरी बस्ने चितकुमार सुनारको कोठाबाट डाइजेपाम ३१ एम्पुल, फेनारगन ३३ एम्पुल, नुर्फिन २२ एम्पुल र नगद ६१ हजार ५५० प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार सुनारको खोजी गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत अवस्थामा फेला

नागार्जुन नगरपालिका-७ सोतिगाउँ डेरा गरी बस्ने मोरङ घर भएका ५७ वर्षीय ठोमबहादुर दमाई आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बोलेरोको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु

गोदावरी नगरपालिका-१४ हाडेगाउँ चोक बाडेगाउँस्थित सडकमा बा.२१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२-०४१ प ९४२२ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु