‘कृषि क्षेत्रमा लगानी दशक’ कार्यान्वयनमा लैजान संघीय कृषि मन्त्रालय र प्रदेश मन्त्रालयबीच छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० गते देशबासीका नाममा सम्बोधन गर्दै घोषणा गरेको ‘कृषि क्षेत्रमा लगानी दशक’लाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशअन्तर्गतको कृषि मन्त्रालयसँग छलफल गरेको छ ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ अनुसार विषयगत समितिको ८औं बैठक आयोजना गर्दै संघीय कृषि मन्त्रालयले प्रादेशिक कृषि मन्त्रालयसँग छलफल गरेको हो । समितिको अध्यक्ष संघीय कृषि तथा पशुपन्छीमन्त्री वेदुराम भुसाल छन् ।

भुसालको अध्यक्षतामा भएको छलफलमा गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका कृषि मन्त्रीसहित ७ वटै कृषि मन्त्रालयका सचिवले सहभागिता जनाएका थिए । मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीका अनुसार यसअघि भएको बैठकले गरेका निर्णयका विषयमा  सहभागीले समीक्षा गरेका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमका लागि पनि यो छलफलले सहयोग गरेको मन्त्रालयले दाबी गरेको छ ।

छलफलमा प्रदेशका सचिवहरुले प्रदेश सरकारको प्राथमिकता, कानुन निर्माणको अवस्था, सञ्चालित महत्वपूर्ण कार्यक्रम र प्रादेशिक रुपमा कृषिको चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बैठकमा चैते धानवालीको प्रवर्धन कार्यक्रम सञ्चालन, रासायनिक मलको व्यवस्थापन, बाँझो जमिनको उपयोग, छाडा पशु तथा वन्यजन्तु नियन्त्रण, बाली तथा पशुपन्छीजन्य रोग, कीरा तथा सम्भावित महामारी नियन्त्रण, कृषिजन्य वस्तुको न्यूनतम समर्थन मूल्य, कृषि तथ्यांक संकलन र व्यवस्थापनमा एकरुपता कायम गर्ने विषयमा प्रदेश मन्त्रालय र संघीय मन्त्रालयबीच छलफल भएको छ ।

छलफलमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा तयारीको विषयमा पनि छलफल भएको छ । प्रदेश मन्त्रालयहरुले निर्माण भएको कृषि बजार तथा शीतघरको सञ्चालन र नियमन, अनुसन्धान निकायसँग समन्वय, सिँचाइ क्षेत्र विस्तार, किसान सूचीकरण, दुग्ध किसानको बक्यौता रकम भुक्तानीलगायतका विषय समाधान गर्न संघीय मन्त्रालयलाई आग्रह गरेका थिए ।


क्लिकमान्डु