भारतले नेपालमा सिधै २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात: एमाले सचेतक



काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाएका छन् ।

बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको जिकिर गरे ।

यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको उनको भनाइ छ ।
सम्झौताले स्वाभिमानको जरा काट्ने काम भएको उनलेब ताए । उनले भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरुले पाउनुपर्ने बताए ।

‘प्रधानमन्त्रीज्युले केही कुरा त बताउनु भयो । तर भएको सम्झौता के हो ? सम्झौताको प्रति संसदले संसद नचलेको बेलामा यो विषयगत समिति र यो समिति अन्तर्राष्ट्रिय सन्धी र सम्झौतासँग हाम्रो क्षेत्राधिकारको विषय पनि हो । त्यो हामीले जानकारी पाउनुपर्छ’ उनले भने, ‘ नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो ? नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ ? यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ ? सम्झौतप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले देशको राष्ट्रघात भएको छ । स्वाभिमानको जरा काट्ने काम भएको छ ।’

सचेतक बर्तौलाले भारतसँग भएको सम्झौताको दोष अरु सरकारलाई देखाएर पन्छिन नमिल्ने बताए ।


क्लिकमान्डु