‘तपस्वी’ बम्जनको घरबाट ३ करोड ३० लाख र १५ वटा मोबाइल बरामद



काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट प्रहरीले ठूलो परिणाममा नगद बरामद गरेको छ ।

प्रहरीले हात्तीगौंडास्थित बम्जनको निवासबाट ३ करोड ३० लाख ७५ हजार रुपैयाँ नगद बरामद गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

बरामद नगदमा ५ सय र १ हजार दरका गड्डीहरु रहेको प्रहरीको भनाइ छ । त्यस्तै विदेशी मुद्रा पनि उनको घरबाट फेला परेको प्रहरीले जनाएको छ ।

उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई प्रहरीले हिजो काठमाडौंको बूढानीलकण्ठस्थित हात्तीगौंडाबाट पक्राउ गरेको थियो । प्रहरी घरमा आइपुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए ।

बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो।


क्लिकमान्डु