नेपालीको अवस्था बुझ्न रुस जाँदै परराष्ट्र मन्त्री साउद



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद नेपालीहरुको अवस्थाबारे जानकारी लिन रुस जाने तयारी गरेका छन् । तर, उनको भ्रमणको मिति भने तय भइनसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयले उनको भ्रमणको तयारी तिब्र बनाएको छ । मन्त्री साउदले नेपालस्थित रुसी राजदूतावास र रुसमा रहेको नेपाली राजदूतावाससँग पनि आफ्नो भ्रमणका विषयमा समन्वय गरिसकेको स्रोतको भनाइ छ ।

परराष्ट्र मन्त्रालयले उनको रुस भ्रमणको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ ।

‘नेपालीको अवस्था बुझ्नका लागि मन्त्रीज्यू युद्धग्रस्त रुसमा जाने तयारीमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘मन्त्रालयले अहिले रुसमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्ने लगायतको काम गरिरहेको छ । मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरे लगत्तै उहाँ जानुहुन्छ ।’

त्यसक्रममा मन्त्री साउदले रूसी सरकारसँग नेपालीको उद्धारका विषयमा समेत छलफल गर्ने छन् ।

रुसी सेनामा कार्यरत १० जना नेपालीको मृत्यु भइसकेको छ । परराष्ट्र मन्त्रालयले २०० भन्दा बढी नेपालीहरु रुसी सेनामा कार्यरत रहेको जनाएको छ ।

रुसमा रहेका ११५ जना नेपालीले उद्धारका लागि परराष्ट्र मन्त्रालय मार्फत आवेदन दिएका छन् ।


क्लिकमान्डु