डा. विशद दाहालमाथिको निलम्वन तत्काल फिर्ता गर्न शिक्षामन्त्रीको निर्देशन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजले आवासीय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्वन तत्काल फिर्ता गर्न निर्देशन दिएका छन् ।

मन्त्री राईले आवासीय चिकित्सक डा. विशद दाहालमाथि काठमाडौं मेडिकल कलेजले गरेको निलम्वन तत्काल फिर्ता गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।

उनले काठमाडौं विश्वविद्यालयको सहकुलपतिको हैसियतमा डा. दाहालमाथिको निलम्वन फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलबार मन्त्री राईले काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३(क) उपदफा(३) बमोजिम विश्वविद्यालयलाई निर्देशन दिएको जानकारी गराए ।

मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिटसम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीलाई स्वास्थ्य शिविरमा पठाउन पनि निर्देशन दिएको उनले बताए ।

मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हुने निर्देशनलाई पालना गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै काठमाडौं मेडिकल कलेजलाई बोधार्थसमेत दिएका छन् ।


क्लिकमान्डु