प्रधानमन्त्रीलाई वामदेवको प्रश्नः भएको विद्युत विदेशीलाई बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ?



काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भएको विद्युत अरु देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरे ।

हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने उनको भनाइ छ । हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत उत्पादन गरी बिक्री गर्नुपर्ने उनले बताए । नेता गौतमले विद्युत बिक्रीका लागि गरिएका सम्झौतहरु खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।

‘दिगो विकास लक्ष्य र हरित अर्थतन्त्र भनेको छ । अहिलेको भाषणमा प्रधानमन्त्रीदेखि अन्य नेताहले गर्ने र नसुहाउने भाषण हो । नेपालमा उत्पादन भएको बिजुली सबै विदेश पठाउनु हुन्छ । अनि हरित अर्थतन्त्र कसरी निर्माण हुन्छ ?’ उनले भने, ‘हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्छ । विकास गर्नसक्छ । विद्युत यहाँ तपाईले सबै ठाउँमा प्रयोग गर्नुभयो भने सबै हरित अर्थतन्त्र भइहाल्छ । तर जति उत्पादन हुन्छ बिक्री गर्ने, जुन दिन हामीले हरित अर्थतन्त्रको विकास गर्छौं त्यसबेला बिक्री गरे हुन्छ नि । हामीले निर्माण गर्न विदेशीहरुलाई दिएका ठाउँ छोड्ने हो भने म ति सबै खारेज गर्नुपर्छ भन्ने पक्षमा छु । सबै क्षेत्रमा साँच्चिकै हरित अर्थतन्त्र निर्माण गर्ने हो भने विदेशमा बिजुली बिक्री गर्ने होइन, नेपाल भित्रै खपत गर्नुपर्छ ।’

सदस्य गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्ने बताए ।


क्लिकमान्डु