बालेनले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाए ताला



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सचिवालयकाअनुसार सोमबार प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइएको हो । अधिकारी महानगरको कार्यपालिकाले गरेको निर्णय हेरफेर गरि प्रमाणीकरण गरेको आरोपमा हाल बिदामा छन् ।

महानगरको पुसको नगर कार्यपालिकाको बैठकमा भएको निर्णयलाई अधिकारीले हेरफेर गरेको आरोप रहेको छ । उक्त घटनामा अन्य तीन कर्मचारीलाई मेयर शाहले निलम्बन गरेका छन् ।

शाहले सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेका थिए । उनीहरुमाथि छानबिन भइरहेको बेला प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा राखिएको हो ।

महानगरको कार्यपालिकाको बैठकले वडा नम्बर १९ मा स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पाँच जना करारका कर्मचारीलाई निरन्तरता दिने विषयमा गरेको निर्णयमा हेरफेर गरेको भन्दै उनीहरुमाथि छानबिन भइरहेको छ । उक्त निर्णयमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले आफ्नी छोरीलाई करारमा राख्नका लागि नाम राखेको र प्रमुख प्रशासकीय अधिकृतले त्यसलाई प्रमाणीकरण गरेका थिए ।

उक्त घटनाको विषयमा छानबिन भइरहेकाले छानबिन नसकिँदासम्म प्रमुख प्रशासकिय अधिकृत बिदामा रहने र सो अवधिमा उनको कार्यकक्ष बन्द हुने भएकाले ताला लगाइएको मेयर शाहको सचिवालयले जनाएको छ ।

यो घटनाको छानबिनका लागि समिति गठन गरिएको छ । सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा गठन भएको समितिमा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल रहेका छन् ।


क्लिकमान्डु