विकल्प मानिएको टेलिकमको इन्टरनेट विस्तार सुस्त: प्रयोग क्षमता ८२ लाख, पहुँच १३ लाखमा मात्रै



काठमाडौं । भारतबाट ब्यान्डविथ खरिद गरेबापतको शुल्क भुक्तानी गर्न बाँकी राखेका निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले सरकारले सहयोग नगरे सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

विभिन्न ९ सेवाप्रदायकले नै साढे २ अर्ब र सबै सेवाप्रदायकले करिब ४ अर्ब रुपैयाँ रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क  तिर्न बाँकी छ । यही शुल्क नतिरेका कारण सरकारले ब्यान्डविथ खरिदका लागि विदेशी मुद्रा सटहीको सुविधा दिएको छैन ।

सरकारी राजस्व नतिर्ने सेवाप्रदायकले इन्टरनेट बन्द गराए नेपाल टेलिकमलाई विकल्प बनाउने उद्घोष सरकारी अधिकारीबाटै हुन थालेको छ ।  तर, सरकारी कम्पनीको सेवा विस्तार भने निकै सुस्त छ । सरकारले निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको विकल्प मानेको नेपाल टेलिकमको फाइबर टु दि होम (एफटीटीएच) सेवाको विस्तार निकै सुस्त गतिमा अघि बढेको छ ।

टेलिकमसँग हाल १७ लाखभन्दा बढी इन्टरनेट जडान क्षमता छ । नेपाल दूरसञ्चार प्राधिकरणले हरेक महिना सार्वजनिक गर्ने तथ्यांकअनुसार यस्तो क्षमता भनेको करिब ८२ लाख प्रयोगकर्तासम्मको पहुँचमा पुग्नु हो । यस्तो क्षमताअनुसार टेलिकमले कात्तिकसम्म जम्मा २ लाख ७९ हजार एफटीटीएच जडान गरेको छ, जसबाट करिब १३ लाख ३९ हजार प्रयोगकर्ताले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

क्षमताका हिसाबले अझै १७ लाख भन्दा बढी ग्राहकलाइ सेवा विस्तार गर्न सक्ने अवस्थामा टेलिकम छ । याे तथ्या‌क अनुसार टेलिकम ७२ लाखभन्दा बढी प्रयोगकर्तासम्मको पहुँचमा पुग्न सक्छ भन्ने हाे । तर, याे क्षमताकाे उपयाेग गर्न टेलिकमको गति भने निकै सुस्त छ । टेलिकमसँग अहिलेसम्म २ लाख ७९ हजार एफटीटीएच जडान हुनुले अझै भनेको जडानमै १५ लाख ग्राहकले कम्पनीको सेवा उपभोग गर्न पाउने अवसर छ भन्ने हाे ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार तारसहित वा ताररहितको एउटा इन्टरनेट सेवा जडान गरिनु भनेको ४.८ प्रयोगकर्ता थपिनु हो । प्राधिकरणले सार्वजनिक गर्ने तथ्यांकमा एउटा इन्टरनेट जडानबाट एकै परिवार वा सहकार्यमा चलाउने यस्ता प्रयोगकर्ता औसतमा ४.८ जना हुन्छन् भन्ने छ ।

सोही आधारमा भदौसम्मको तथ्यांक सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाल टेलिकमले फिक्स्ड ब्रोड ब्यान्डमार्फत ११ लाख ३७ हजार ४६३ प्रयोगकर्तालाई एफटीटीएच सेवा दिएको छ । यो भनेको प्राधिकरणको तथ्यांकअनुसार टेलिकमले हालसम्म २ लाख ३६ हजार ९ सयवटा मात्रै सेवा प्रवाह गरेको छ ।

निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले भने यो अवधिसम्ममा १ करोड २१ लाख ९३ हजार प्रयोगकर्तालाई इन्टरनेट सेवा दिएको छ । यो भनेको प्राधिकरणकै हिसाव अनुसार २५ लाख ४० हजार २ सयवटा ग्राहकसमक्षा इन्टरनेट सेवा पुर्याउनु हो । यी सेवाग्राही नेपालमा इन्टरेटका लाइसेन्स पाएका १२८ वटामध्ये सेवा विस्तार गरेको सबैको एकमुष्ट तथ्यांक हो । ग्राहकलाई सेवा दिनेमा चल्तीको कम्पनी अगाडि र बजार विस्तार गर्दै गरेका तथा नयाँ कम्पनी पछाडि छन् ।

सरकारकै भनाइ अनुसार टेलिकमलाई निजी सेवाप्रदायकको विकल्प नभएर प्रतिस्पर्धी मात्रै बनाउन सकिएको अवस्थामा पनि उपभोक्ताले लाभ लिन सक्ने छन् । सरकारी शुल्क नतिरेर सेवा बन्द गर्ने चेतावनी दिएका निजी सेवाप्रदायकलाई सञ्चार मन्त्रालयले उल्टै विकल्प खोज्छौं भनेर धम्काइरहेको छ ।

सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीले इन्टरनेट कम्पनीहरूले सेवा बन्द गराए विकल्प खोज्ने बताए । ‘अहिले नेपाल टेलिकमसँग तत्कालै १७ लाखभन्दा बढी फाइबर विस्तारको क्षमता छ । यसलाई बढाउन पनि  सकिन्छ । निजी कम्पनीहरूले सेवा बन्द गरेर इन्टरनेट ठप्पै हुँदैन, केही समय अवरुद्ध होला तर सरकारसँग ब्याकअप पनि बनिसकेकोले सेवाप्रदायकको चेतावनीले डराउनुपर्ने अवस्था छैन,’ उनले क्लिकमान्डुसँग भने ।

तथ्यांकअनुसार नेपाल टेलिकमको इन्टरनेटका प्रयोगकर्ता मासिक ३० हजारसम्मले बढ्न थालेका छन् । टेलिकमले कात्तिकमा १७, असोजमा ३२, भदौमा २२, साउनमा २९ हजार प्रयोगकर्ता बढाएको छ ।

तत्कालै सेवा दिने क्षमता बनाएका छौं: टेलिकम

नेपाल टेलिकमले भने इन्टरनेट सेवा विस्तार बढाइरहेको र काठमाडौंका हरेक क्षेत्रमा सेवा दिन सक्ने गरी क्षमता बनाएको दाबी गरेको छ । टेलिकमका प्रवक्ता सोभन अधिकारीले काठमाडौंका अधिकांश ठाउँमा टेलिकमको एफटीटीएच सेवाको नेटवर्क पुगिसकेको बताए । उनले भने, ‘स्रोत बढेकोले त्यहीअनुसार माग पनि बढ्न थालेको छ । टेलिकमको इन्टरनेट सेवा सस्तो र गुणस्तरीय भएको वर्ड अफ माउथ पब्लिसिटीका कारण पनि राम्रो भएको छ ।’

उपत्यकामा १९८१ नम्बरमा फोन गरेर माग गर्ने हो भने तत्कालै सेवा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको टेलिकमले जनाएको छ । ‘नियमित अवस्थाबाहेक नेटवर्क नपुगेको ठाउँमा पनि तत्कालै सेवा दिन सक्ने क्षमता बनाएका छौं,’ अधिकारीले भने । यसअघि ठमेलमा अरु सेवाप्रदायकको तार काटिएका बेला नेपाल टेलिकमले तत्कालै सेवा दिएको उनको दाबी छ ।

टेलिकमको नेटवर्क पुगेका अन्य स्थानमा तत्काल सेवा दिन सक्छौं भने मागअनुसार सेवा दिन पनि टेलिकम तयार रहेको अधिकारीले बताए । ‘टेलिकमको इन्टरनेट सेवा प्रभावकारी र गुणस्तरीय भएकाले मानिसको बुझाई पनि सकारात्मक छ,’ उनले भने ।

पछिल्लाे १४ महिनादेखि नेपाल टेलिकमको इन्टरनेट विस्तार

महिनाइन्टरनेट प्रयोगकर्ता
कात्तिक१७५६८
असोज३२४१३
भदौ२२७१५
साउन २९३०५
असार३०१३६
जेठ३०४५५
वैशाख२५०५८
चैत२६००९
फागुन२३४०२
माघ३३२५०
पुस३१०७
मंसिर१५३१८
कात्तिक३१२०३
असोज४८१८१

स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण/टेलिकम


राजु बास्कोटा