चितवनमा बोरामा पोको पारेर फालिएका पुरुष र महिलालाई पतिले मारेको खुलासा



चितवन । चितवनको भरतपुर महानगरपालिकामा कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका महिला र पुरुषको महिलाका श्रीमानले हत्या गरेको पाइएको छ ।

महानगरको मिलनचोकस्थित पूर्व-पश्चिम राजमार्गमा शव फेला परेको ४६ दिनपछि प्रहरीले मृतक र हत्यामा संलग्नबारे सार्वजनिक गरेको हो ।

दुई जनाको हत्या विवाहेतर सम्बन्धका कारण भएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार हत्यामा मृतक महिलाका पति संलग्न भएको पत्ता लागेको जनाएको छ ।

मृतकहरु भारतको मोतिहारी, फूलबारीया, सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाहा र विहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारणकी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी रहेको प्रहरीले जनाएको छ । उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको प्रहरीको भनाइ छ ।

मंसिर २ गते ऋषभ र सन्जुलाई भगतले उनीहरू बस्ने गरेको भाडाको कोठामा हत्या गरी शव कल्भर्टमा फालेको प्रहरीले जनाएको छ । श्रीमतीसँग ऋषभको सम्बन्ध रहेको भन्दै बेलाबेलामा अखिलेश र ऋषभको झगडा समेत हुने गरेको थियो ।

हत्यापछि भगत भारत गएका थिए । प्रहरीले उनको खोजीका लागि भारतीय प्रहरीसँग समन्वय गरेको थियो ।

उनीमाथि अपहरण र व्यक्ति बेपत्ता सम्बन्धी एफआईआर दर्ता भएको र पुस १६ गते उनी भारतमा पक्राउ परेको प्रहरीले जनाएको छ । भगत हाल भारतको केन्द्रीय कारागृह मोतिहारीमा रहेका छन् ।


क्लिकमान्डु