गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि



चितवन । नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ।

कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् ।

२०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु वाह्य पर्यटकहरुले भरिभराउ छन् । सौराहामा घुम्न आउने वाह्य पर्यटकमा चिनियाँ र भारतीय पर्यटकको संख्या उच्च छ । अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक र वाह्य पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको व्यवसायीको भनाइ छ ।

सौराहामा पर्यटन आगमनमा वृद्धि भए पछि व्यवसायीहरुले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाई थप गर्न सक्नुपर्ने बताएका छन् । पर्यटन व्यवसायीहरुले पर्यटकहरुको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी ५ देखि ७ दिनसम्मको लागि बनाउनुपर्ने माग राखेका छन् ।

क्षेत्रीय होटल संघका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै सौराहामा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको बताए । उनले २०२३ मा सौराहामा ४० प्रतिशत आन्तरिक र बाँकी ६० प्रतिशत पर्यटक वाह्य रहेको बताए । उनले सौराहामा एकै पटक ७ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको बताए ।

उनले जिप सफारी,हात्ती सफारी लगायतका कार्यक्रमहरु भए पनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताए । उनले सरकारले निकुञ्जमा अन्य रुटहरु पनि खुला गरिदिए पर्यटकहरुको लागि राम्रो हुने उल्लेख गरे ।

क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहाको पर्यटन लयमा आएको बताए । उनले पछिल्लो समय सौराहामा आन्तरिक तथा वाह्य गरी ७५ प्रतिशत पर्यटक आगमन भएको उल्लेख गरे ।

उनले सौराहामा गुणस्तरीय होटलहरुमा लगानी बिस्तार हुँदै गएको बताए । उनले व्यवसायीहरुले सौराहामा आउने पर्यटकको लागि पुराना गतिविधि नै दिइरहेको भन्दै नयाँ पर्यटकीय गन्तव्य र गतिविधि दिन आवश्यक रहेको बताए ।

उनले राष्ट्रिय निकुञ्जको नियम कानूनसँग बसेर होटल सञ्चालन गर्नुपर्ने हुँदा जङ्गल वाक,हात्ती सफारी,जीप सफारी,बोटिङ बाहेक नयाँ कार्यक्रम दिन नसकिएको बताए ।

सरकारले राष्ट्रिय निकुञ्जको ऐनलाई नै परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले निकुञ्जको पुरानो ऐनको कारण पर्यटक व्यवसायीहरुलाई धेरै असर परेको भन्दै निकुञ्जमा सफारीको लागि अन्य रुट खोल्न आवश्यक रहेको उनकव भनाइ छ।

सौराहाका होटल व्यवसायी माधव दुवाडीले अहिले २०१९ लाई बिर्सने गरी सौराहामा पर्यटकहरुको आगमन भइरहेको बताए । उनले पर्यटक आगमन वृद्धि भएसँगै सौराहाका होटल व्यवसाय फस्टाएको बताए ।

आन्तरिक पर्यटकहरु समूहगत रुपमा आएर सभा सम्मेलनहरु गर्ने गतिविधिहरु वृद्धि समेत भइरहेको उनको भनाइ छ ।

उनले विगतकै गन्तव्यका आधारमा पर्यटकहरुलाई आकर्षण गर्ने भन्दा पनि नयाँ गन्तव्यको खोजि गर्न आवश्यक रहेको बताए ।

त्यस्तै होटल व्यवसायी बासु ढुङ्गानाले सौराहामा वृद्धि भएका पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताए । सौराहा आउने विदेशी पर्यटकको बसाई लम्ब्याउनसके सौराहाका होटल फस्टाउने मात्रै नभएर सौराहाको अर्थतन्त्र सुधार हुने अवस्था रहेको उनको भनाइ छ ।

होटल व्यवसायी प्रकाश न्यौपानेले सौराहा आउने पर्यटकले वन्यजन्तु र प्राकृति रमणीय होटलहरु बढी रुचाउने गरेको बताए ।

समग्र नेपालका आउने पर्यटकमध्ये ३२ प्रतिशत मात्रै पर्यटक सौराहा आउने गरेको उनको भनाइ छ ।र उनले वनवास रिसोर्ट सञ्चालनमा आएको दुई महिना मात्रै हुँदा पनि प्रकृतिसँगै पर्यटक रमाउन सक्ने होटल भएकाले वनवास रिसोर्ट रोजाईमा पर्ने गरेको बताए ।

सौराहामा पर्यटन आगमन सहज बनाउनको लागि सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको संख्या अझ बढ्न नसकेको व्यवसायीको गुनासो छ । त्यस्तै व्यवसायीहरुले चितवन आउने पर्यटकको लागि हवाई यातायात पनि महँगो भएको बताए । व्यवसायीहरुले सौराहामा पर्यटन वृद्धि भएसँगै नयाँ लगानी र सम्भावनाका ढोका खुल्दै जाने अवस्था सिर्जना हुने बताए ।


क्लिकमान्डु