४ हजार जनालाई साइबर सुरक्षासम्बन्धी नि:शुल्क तालिम दिँदै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले साइबर सुरक्षाबारे ४ हजार जनालाई नि:शुल्क तालिम दिने भएको छ ।

महानगरपालिकाको रोजगारी र आयवृद्धि, महानगरको समृद्धि गौरबको योजना अन्तर्गत चार हजार जनालाई साइबर सुरक्षासम्बन्धि तालिम दिन लागिएको हो । महानगरले चालु आर्थिक वर्षको बजेटमार्फत तीन वर्ष अवधिका लागि राखेको गौरवको आयोजनाअन्तर्गत साइबर सुरक्षामा ४ हजार जनालाई नि:शुल्क प्रशिक्षण दिन लागिएको हो ।

महानगरले चालु आर्थिक वर्षको बजेटबाट गौरवका आयोजनाका रुपमा सुरु गरेको यो कार्यक्रमअन्तर्गतबाट १५ हजार जनालाई तालिम र ५ हजार जनालाई रोजगारीमा जोड्ने लक्ष्य लिएको छ ।

सोही अन्तर्गत विभिन्न् ३४ वटा विद्यामा तालिम दिने र आवश्यकताअनुसार अन्य विद्याहरु थप्ने गरि महानगरले काम गरिरहेको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताए । सोही अन्तर्गत ४ हजार जनालाई महानगरले तालिम दिन लागेको हो ।

झाकाअनुसार यो तालिमका लागि इसी काउन्सिल र ग्याप टेक्नोलोजीले संयुक्त रुपमा महानगरसँग सहकार्य गरेको छ । यी दुई संस्थाले सहकार्य गरि साइबर सुरक्षाको विषयमा २२ देखि ७० घण्टाको अवधिका लागि विभिन्न ७ वटा विद्यामा तालिम दिन लागेको उनले बताए ।

‘हामीले ल्याएको रोजगारी र आयबृद्धि, महानगरको समृद्धि योजनालाई साथ दिन दुई संस्थाले सहकार्य गर्दै निशूल्क तालिम दिन आएपछि हामीले तालिम आयोजना गर्न लागिएको हो’ उनले भने ।

तालिम अनलाइनबाट हुने झाले बताए । माघ २ गतेबाट तालिमको औपचारिक सुरुवात गरि त्यसपश्चात तालिम सञ्चालन गरिने उनले बताए । तालिम अनलाईनबाट लिन सकिने र प्रमुख प्राथमिकतामा महानगरका स्थानीय तथा मतदाता रहेका छन् ।

त्यसपछि प्रभाहित क्षेत्रका रुपमा सिसडोल र दक्षिणकाली क्षेत्रका मानिस र त्यसपछि देशभरका जोसुकैले पनि तालिम लिन सक्ने गरि प्रावधान रहेको छ ।

‘इसी काउन्सिल र ग्याप टेक्नोलोजीको संयुक्त इनिसिएसनमा महानगरसँग सहकार्य गरेर ४ हजार जनालाई साइबर सुरक्षाको विषयमा तालिम र प्रमाणिकरण दिन लागेको हो’, उनले भने, ‘हाम्रो प्लेटफर्ममा रजिस्टर गरेकालाई तालिम दिइनेछ । टोकन इसि काउन्सिलबाट लिएर परिक्षा दिन पाउनुहुन्छ । तीन महिनाभित्रमा जाँच लिन सक्नुहुन्छ ।’

तालिममा प्रोग्रामिंग फन्डामेन्टल्स, वेब एप्लिकेसन डेभलपमेन्ट, गर्भनेन्स, रिस्क एण्ड कमप्लायन्स, बिजनेस इन्टेलिजेन्स, नेटवर्किंग फन्डामेन्टल्स, क्लाउड र साइबर सुरक्षालगायतका विद्याहरुमध्येबाट प्रशिक्षण लिन सकिनेछ ।

उक्त तालिमको कुल लागत ५ करोड रहेको भए पनि महानगरसँग सहकार्य गरेका दुई संस्थाले सम्पूर्ण खर्च आफैंले बेहोरेर तालिम दिन लागेको झाले बताए ।

महानगरको यो योजनाअन्तर्गत हाल कम्प्युटर बेसिक र ब्युटिसियनको तालिम सञ्चालन गरिरहेको छ, जसमा सय जना हाराहारीले तालिम लिइरहेको झाले बताए ।


क्लिकमान्डु