कृषि यान्त्रीकरण प्रदर्शनी ३० हजारले गरे अवलोकन, ६ करोडको बुकिङ



काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) ले आयोजना गरेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ ।

शुक्रबारदेखि तीन दिन चलेको मेलाको करिब ३० हजारले अवलोकन गरेका छन् । ‘कृषि यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ नारा सहित शुक्रबारदेखि पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा जारी मेलाको आइतबार बेलुका एक कार्यक्रमबीच सम्पन्न गरिएको हो ।

कार्यक्रम सोचेजतिकै भव्य भएको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए । ‘हामीले कृषि यान्त्रीकरणको प्रवर्धन गर्ने उद्देश्यसहित हरेक दुई वर्षमा गर्दै आएको यो प्रदर्शनी पहिलो पटक प्रदेशस्तरमा गरिएको छ,’ समापन कार्यक्रममा उनले भने, ‘सरकारी तथा गैरसरकारी क्षेत्र सबैको साथ, व्यापारी र अवलोकनकर्ता सबैको भव्य र उत्साहपूर्ण सहभागिताले कार्यक्रम राम्रो भएको छ ।’

तीन दिनमा ५५ लाखभन्दा बढीको प्रत्यक्ष रुपमा मेसिनरी उपकरणको कारोबार भएको तथा ९ करोडभन्दा बढीको बुकिङ भएको नामियाका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । प्रदर्शनीको तेस्रो दिन आइतबारमात्रै करिब ६ करोडबराबरको मेसिनरी बुकिङ भएको छ भने एकैदिन १५ लाखभन्दा बढी रकमको कृषि औजार, मेसिनरी तथा कृषि सामग्री बिक्री भएको नामियाले जनाएको छ ।

प्रदर्शनीलाई कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले पनि आयोजकको रुपमा  साथ दिएका थिए ।

समापन कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनञ्जय आचार्यले आवश्यकताअनुसार कृषिको क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा ६० कम्पनीले ७० वटा स्टल प्रदर्शनीमा राखेका थिए । उक्त ७० स्टलमध्ये नौ वटा मेड इन नेपाल अन्तर्गतका थिए भने १५ वटा रैथानी बालीका थिए । यस्तै दुईवटा विदेशी स्टल पनि थिए ।


क्लिकमान्डु