सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक बागलुङ महोत्सवको मुख्य आकर्षण



बागलुङ । यही पुस ११ देखि धवलागिरि बहुमुखी क्याम्पस प्राङ्गणमा सुरु सातौँ बागलुङ महोत्सवमा स्थानीय उत्पादन आगन्तुकको रोजाइमा परेका छन् ।

सिस्नोको पाउडर, जङ्गली बाँकोको गुन्द्रुक, भाँगो, सिल्टिमुर, आलु, मुलाको धजरा, मकैको आँटो, नेपाली कागज, अल्लोका कपडा, आलुलगायतका स्थानीय उत्पादन राखिएका प्रदर्शनी कक्षमा अवलोकनकर्ताका भिड लागेको छ । आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले स्थानीय उत्पादनका लागि प्रदर्शनी कक्ष निःशुल्क उपलब्ध गराएको छ ।

महोत्सवमा आउने अधिकांशका लागि विशेष गरी सिस्नोको पाउड र बाँकोको गुन्द्रुक रोजाइमा परेको छ । यस्ता प्रदर्शनी कक्षमा पुग्ने अधिकांशले एक–दुई पोका सिस्नोको पाउडर र गुन्द्रुक किनेर लैजाने गरेको देखिन्छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै महोत्सव सुरु हुनुपूर्व नै सङ्घले जिल्लाका दशवटै पालिकामा उत्पादन हुने स्थानीय वस्तुलाई ल्याउन भनेको थियो । सोहीअनुसार ताराखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकालगायतका स्थानबाट स्थानीय उत्पादन ल्याइएको थियो ।

गाउँमा वर्षौँदेखि महिलाले सिस्नोको पाउडर, गुन्द्रुक, अचारलगायतका सामग्री उत्पादन गरे पनि प्रचार–प्रसार र बजारीकरण हुन नसकेको भन्दै महोत्सवमार्फत यसको प्रबद्र्धनमा सहयोग पुगेको ताराखोला गाउँपालिका–५ की निरु घर्तीका भनाइ छ । ताराखोलामा धेरै समय अघिदेखि ‘सहनशीला सिस्नो पाउडर उत्पादन लघुउद्यमी समूह’ले सिस्नोको पाउडर उत्पादन गर्दै आएको थियो । तर समूहले उत्पादन गरेको सिस्नोको पाउडरको बजारीकरणमा समस्या देखिएको थियो । महोत्सवमा प्रदर्शन गरेपछि यसको माग बढेको उनले सुनाइन् ।

“महोत्सवमार्फत स्थानीय उत्पादनको प्रचार–प्रसारमा सहयोग पुगेको छ । बजारीकरणमा पनि सहज हुने अपेक्षा गरेका छौँ”, घर्तीले भनिन्, “पहिले प्रचारप्रसार पुगेको थिएन । आगामी दिनमा माग बढ्ने र गाउँबाटै बिक्री बढ्ने आशा गरेका छौँ ।”

बडिगाड गाउँपालिका–१ की बिनु सलामीले महोत्सवले स्थानीय उत्पादनको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।प्रदर्शनी कक्षसमेत निःशुल्क पाएपछि व्यापार गर्न र उत्पादन बारेमा धेरैलाई जानकारी दिन सहज भएको उनको भनाइ छ ।

महोत्सवमा आएका धेरैले बाँसबाट बनेको काँगियो, खुर्पेटो, कोदोको पिठो, बाँकोको गुन्द्रुक, सिस्नोको पाउडर, सिमी र भाँगो बढी किनेर लैजाने गरेको सलामी बताउँछिन्। महोत्सवले गाउँमा उद्यम गरेर अग्र्यानिक उत्पादन गर्ने उद्यमी उत्साहित बनाएको उनको भनाइ छ ।

बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले महोत्सवमा स्थानीय उत्पादनलाई मुख्य प्राथमिकता दिएको बताए । अधिकांश स्थानीय उत्पादनै प्रयोग गरेको भन्दै प्रदर्शन कक्षमा धेरै प्रकारका सामान राखिएको उनको भनाइ छ । जिल्लामा पाइने भाँगो, गुन्द्रुक र रातो च्याउलाई विश्वभर चिनाउन आवश्यक रहेको भन्दै यसबेला धेरै प्रचार भएको अध्यक्ष कँडेल बताउँछन् ।

कला, संस्कृति र स्थानीय उत्पादननै महोत्सवको मुख्य आकर्षण हुनेगरी व्यवस्थापन गरिएको उनले बताए ।

“बागलुङ छुट्टै पहिचान बोकेको जिल्ला हो, पछिल्लो समय कला, संस्कृति र परम्परा हराउँदै गएका छन्, यसलाई संरक्षण गर्न, व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय उत्पादनलाई बजारीकरणका लागि बढी ध्यान दिएका छौँ, महोत्सव अवधिमा राम्रो प्रचार भएको र व्यापार भएको बुझेका छौँ” उनले भने । महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए ।


क्लिकमान्डु