सेनामा जागिर भनेपछि दुई साथीलाई रुसमै छाडेर फर्किए कार्की, ट्राभल सञ्चालक पक्राउ



काठमाडौं । रुसमा होटलमा जागिर लगाउनेभन्दै सेनामा भर्ती गर्न पठाउने दुई जना ट्राभल सञ्चालक पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव तस्करीको आरोपमा बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।

कार्यालकाअनुसार बेरोजगार युवाहरुलाई रसियामा रहेको होटलमा आकर्षक तलब हुन्छ भन्दै प्रतिव्यक्ति ६ लाख रुपैयाँ लिएर शंकर कार्की , राजन राई र विकास राईलाई रुस पठाउने अलास्का ट्राभल्स संचालक अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेरबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

रसिया पुगेपछि शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिलाई ८ सय डलर थप दिए पछि ति व्यक्तिले रुसी सेनामा भर्ना हुनुपर्ने बताएका थिए ।

दलालले होटलमा कुनै काम नभएको र आफूलाई रुसी सेनामा भर्तीका लागि बोलाइएको बताएपछि कार्की रुसी सेनामा काम नगर्ने भन्दै नेपाल फर्किए । उनीसँग गएका राजन र विकास भने रुसी सेनामा भर्ना भए ।

कार्कीले नेपाल फर्किएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । एसएलसीमात्र पास गरेका कार्कीलाई ट्राभल सञ्चालकले नै सबै नक्कली कागजात बनाएर उनलाई रुस पठाएका थिए ।

कार्कीसँग भएको प्रमाणसहित कार्यालयमा जाहेरी दिएपछि रसिया पठाइ मानव तस्करी कार्यमा संलग्न अलस्का ट्राभल्स संचालक अर्जुन र शेरबहादुरलाई प्रहरी टोलीले बिहीबार माइतीघर र थापा गाउँबाट पक्राउ गरेको थियो ।

उनीहरुला मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ ।

नक्कली कागजातको आधारमा सेटिङ मिलाई बेरोजगार युवाको तस्करी गरी झुट्टा प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्नहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु